मैदान अभावले एमएम कप क्रिकेट विराटनगरमा हुने

वैशाख १०, २०८२

अर्जुन सुवेदी

MM Cup cricket will be held in Biratnagar due to lack of ground

सुनसरी — मैदान अभाव भएपछि सुनसरीको इनरुवामा हुँदै आएको मनमोहन मेमोरियल (एमएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण विराटनगरमा हुने भएको छ । प्रतियोगिता वैशाख १३ देखि २० सम्म विराटनगर बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा हुने एमएम कप फाउन्डेसन सुनसरीले जनाएको छ।

इनरुवामा रहेको जेल फिल्ड रंगशाला मर्मतको नाममा लामो समयदेखि भद्रगोल रहेकाले प्रतियोगिता विराटनगरमा आयोजना गर्नुपरेको फाउन्डेसनका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।

५० ओभरको एकदिवसीय क्रिकेट प्रतियोगितामा एक भारतीयसहित ६ टोलीले सहभागिता जनाउने छ । प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब, आसाम क्रिकेट टिम तथा कोशी र बागमती प्रदेश टिमले सहभागी जनाउने फाउन्डेसनका अध्यक्ष घोषले बताए ।

प्रतियोगिता विजेतालाई ४ लाख र उपविजेतालाई २ लाख दिइने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई जनही १५–१५ हजार प्रदान गरिनेछ । प्लेयर अफ द म्याचलाई ४ हजार दिइनेछ ।

प्रतियोगिता सम्पन्न गर्न एक करोड रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । फाउन्डेशनले यसअघि आयोजना गरेका पहिलो र दोस्रो संस्करणको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब लगातार विजेता भएको थियो । पहिलो र दोस्रो संस्करणमा प्रतियोगिता १२–१२ टोली सहभागी भए पनि यस पटक समय अभावले ६ वटा टोली मात्रै सहभागी गराएको आयोजकले जनाएको छ ।

अर्जुन सुवेदी

Link copied successfully