बढाइयो पुरस्कार राशि
मकवानपुर — जेठ ३ गतेदेखि हेटौंडा उपमहानगरपालिका मेयर कप वडास्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
उपमहानगरपालिकाको आर्थिक सहयोग एवम् नगर खेलकुद विकास समिति हेटौंडाको आयोजनामा सञ्चालन हुँदै आएको प्रतियोगिताको तयारीलाई अघि बढाइएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा आयोजना हुने प्रतियोगिताको विजेताले २ लाख ५० हजार र उपविजेताले २ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक र प्रशिक्षकले समान नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।
अघिल्लो वर्ष विजेताले २ लाख र उपविजेताले डेढ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकोमा यस वर्ष पुरस्कार राशि बढाइएको हो । प्रतियोगितामा उपमहानगरपालिका भित्रका वडाहरुले मात्रै सहभागिता जनाउन पाउनेछन् । हेटौंडा उपमहानगरपालिकाले हरेक वर्ष वडाबीच प्रतिस्पर्धा हुने गरी मेयर कप फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
‘खेलको माध्यमबाट खेलाडी र वडाको बीचमा सहकार्यमा भावनाको विकास गराउनुका साथै खेल क्षेत्रको विकासका निम्ति प्रतियोगितालाई निरन्तरता दिँदै आएका हौं’, नगर खेलकुद विकास समितिका अध्यक्ष घिमिरेले भने, ‘मेयर कपको तयारीलाई अघि बढाउनुहुन १९ वटै वडा र खेलाडीहरुलाई अनुरोध समेत गर्न चाहन्छौं ।’
यस प्रतियोगिताका लागि उपमहानगरपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अघिल्लो वर्ष भएको मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौंडा ४ नम्बर वडाले जितेको थियो ।
