नेपालगन्ज — विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै नेपाल पुलिस क्लब पहिलो लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मंगलबार नेपालगन्ज रंगशालामा भएको पहिलो सेमिफाइनलमा पुलिसले टाइब्रकेरमा ६–५ को नतिजा निकाल्यो ।
निर्धारित समयमा १–१ गोल भएपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिइएको थियो । सुरुआती पेनाल्टी शुटआउट पनि ४–४ ले बराबरी भएपछि खेल सडनडेथमा पुग्यो । पेनाल्टीमा पुलिसबाट रेविका पाण्डे, उषा नाथ, निरु थापा, सुष्मा तामाङ, अनुष्का शेर्पा र अमृता जैसीले गोल गरेका थिए ।
मोनिका पुलामी मगर र मीना देउवाको प्रहार आर्मीकी गोलकिपर कोपिला खड्काले बचाउँदा समिक्षा घिमिरेको प्रहार बाहिरिएको थियो । आर्मीबाट तुलसा बोहरा, हिमा चौधरी, सपना लामा, विमला बिक र सुखरिया सुख्खुले गोल गरेका थिए । अञ्चली वाइबा, सुनीता चौधरी र इन्दिरा राईको प्रहारमा गोलकिपर उषा बाधक बन्दा चन्द्रा भण्डारीको प्रहार बाहिरिएको थियो । उषा प्लेयर अफ न म्याच भइन् ।
खेलको २८ औं मिनेटमा मीना देउवाको गोलमा पुलिसले अग्रता लियो । अमृता जैसीको फ्रिकिक प्रहार गोलकिपर कोपिलाले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा पोस्ट नजिकबाट मीनाले बललाई गोलमा परिणत गरिन् । तुलसा बोहराले ८० औं मिनेटमा गोल गर्दै आर्मीलाई बराबरीमा ल्याइन् ।
वैकल्पिक खेलाडी तुलसाले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेकी हुन् । सहारा लिम्बूले ह्यान्ड गरेपछि आर्मीले फ्रिकिक पायो ।
