बजेट घटाउन लागेकोमा प्रदेश खेलकुदमन्त्रीको आक्रोश

वैशाख ९, २०८२

सुवास विडारी

State Sports Minister's anger over budget reduction

मकवानपुर — आगामी आर्थिक वर्षको बजेट सिलिङ घटेको भन्दै बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले आक्रोश पोखेका छन् ।

प्रदेश खेलुकद विकास परिषद्को आयोजनामा मंगलबारबाट हेटौंडामा सुरु भएको खेलकुद पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री महर्जनले प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आवमा खेल क्षेत्रको बजेट घटाएको भन्दै आक्रोश पोखेका हुन् । उनले भने, ‘चालु आर्थिक वर्षमा ७४ करोड रुपैयाँ रहेको हाम्रो मन्त्रालयलाई अहिले ६१ करोड बजेट सिलिङ प्राप्त भएको छ । यसरी खेलकुदको विकास सम्भव छैन ।’

उनले खेलकुदलाई बजेट माग्दा अर्थमन्त्रीले आफ्नै खल्तीबाट दिनुपर्ने जस्तो व्यवहार गर्ने गरेको टिप्पणी गरे । राज्यले खेलकुदको महत्व नबुझ्दा खेलाडी विदेश पलायन हुन बाध्य भएको उनको दाबी । 

प्रदेश सरकारले पनि खेलकुद क्षेत्रलाई खासै महत्व नदिएको उनले गुनासो गरे । उनले भने, ‘यस्तै कारणले खेलाडी विदेसिन बाध्य भएको हो ।’

युवा तथा खेलकुद मन्त्रालयको सिलिङ बजेट जम्मा ६१ करोड रुपैयाँ मात्रै रहेको जानकारी दिँदै उनले यो निकै कम भएको बताए । हरेक खेलको राष्ट्रिय टिममा रहेका ८० प्रतिशत खेलाडी बागमती प्रदेशभित्रका रहेको उनले उल्लेख गरे । 

बागमती प्रदेशका मुख्यमन्त्री भने खेलकुदप्रति ‘पोजिटिभ’ भएको महर्जनको भनाइ छ । मुख्यमन्त्री पोजिटिभ नभएको भए बागमती प्रदेशमा खेलकुदको गतिविधि नै नहुने उनको जिकिर थियो । 

कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले मुलुक संघीयतामा गए पनि खेलकुदमा अझै संघीयता आउन बाँकी रहेको धारणा राखे । कुन संरचना कसले हेर्ने भन्ने विषयमा प्रस्ट नहुँदा केही समस्या भइरहेको उनको भनाइ थियो । 

बागमती प्रदेशभित्रका खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारका लागि क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै उनले यसले खेल पत्रकारलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । तालिममा बागमती प्रदेशका १३ जिल्लाका ५० जना पत्रकारहरुको उपस्थिति रहेको छ ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully