दक्षिण एसियाली युथ टेबलटेनिस बिहीबारदेखि

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

South Asian Youth Table Tennis from Thursday

काठमाडौँ — अखिल नेपाल टेबलटेनिस संघले बिहीबारदेखि दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोगितामा नेपालसहित ६ राष्ट्रका ८५ खेलाडीको भाग लिने मंगलबार पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले बताए । भुटानबाहेक दक्षिण एसियालीका सबै राष्ट्रको सहभागिता रहनेछ ।

एसियाली टेबलटेनिस युनियनको वार्षिक क्लोन्डरअनुसार हुन लागेको चारदिने प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ । यू–१९ र यू–१५ उमेर समूहमा टिम इभेन्ट, सिंगल्स, डबल्स र मिक्स डबल्समा गरी १४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसको छनोटका रूपमा रहेको टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलाले बताए । यू–१९ को टिम स्पर्धामा पहिलो र दोस्रो हुने टोली एसियाली जुनियर टेबलटेनिसका स्वतः छनोट हुने बासुकलाले बताए । यो उपलब्धि हासिल गर्न नसक्ने राष्ट्रको हकमा प्रत्येक राष्ट्रलाई यू–१५ उमेर समूहमा समान १–१ पुरुष र महिला खेलाडीलाई वाइल्ड कार्डमार्फत सहभागिताका लागि कोटा प्रदान गरिनेछ ।

आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले प्रतियोगिताका लागि सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे ।

कान्तिपुर

Link copied successfully