काठमाडौँ — शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले केएनपी नेरोलेक आठौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबारदेखि हुने प्रतियोगितामा सहभागी ५ टिमलाई २ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ ।
समूह ‘बी’ मा साविक विजेता एपीएफ, एभरेस्ट र आर्मी तथा समूह ‘बी’ मा साबिक उपविजेता नेपाल पुलिस र न्यु डायमन्ड स्पोर्ट्स एकेडेमी छन् । पहिलो खेल आर्मी र एपीएफ तथा पुलिस र न्यु डायमन्डबीच प्रतिस्पर्धा हुनेछ ।
विजेताले ४ लाख ९९ हजार, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटनका अवसरमा एकजना राष्ट्रिय महिला खेलाडीलाई ५० हजार रुपैयाँसहित ‘शेरबहादुर खड्का स्पेसल अवार्ड’ बाट सम्मानित गरिने छ । एक प्रशिक्षकलाई ५० हजार नगदबाट पुरस्कृत गरिने छ । पुरस्कार राशि मात्रै १३ लाखभन्दा बढी रहेको प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए । फाइनल वैशाख १३ मा हुनेछ ।
