नेपाली जुडो टोली थाइल्यान्डतिर

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

Nepali judo team to Thailand

काठमाडौँ — एसियाली जुडो च्याम्पियनसिपमा भाग लिन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार थाइल्यान्डको बैंकक गएको छ ।

अप्रिल २५ देखि २८ सम्म हुने प्रतियोगितामा नेपालका ३–३ पुरुष/महिला खेलाडीले भाग लिनेछन् । पुरुष ६० केजीमुनि विकास बिक, ६६ केजीमुनि विशेष बिक र ९० केजीमुनि विपिन तामाङले प्रतिस्पर्धा गर्नेछन् । घरेलु प्रतियोगितामा विकास पुलिस, विशेष एपीएफ र विपिन आर्मी क्लबबाट खेल्छन् । महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ, ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधान र ७० केजीमुनि रञ्जना खड्काले भाग लिने छन् । देवकी बन्दी सहायता नियोग (पाम), मनिता पुलिस र रञ्जना एपीएफका खेलाडी हुन् । ओलम्पिकसमेत खेलिसकेकी मनिता पनि पामकै उत्पादन हुन् ।

अफिसियलमा नेपाल जुडो संघका महासचिव प्रकाशचन्द्र पाण्डे, प्रशिक्षकमा मोहन सुनुवार र सुनीता मगर, व्यवस्थापकमा तुलबहादुर थापा मगर र आईटीका सुप्रसिद्ध ताम्राकार छन् ।  

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै बिदाइ गरे । प्रतियोगिता दौरान हुने जुडो युनियन अफ एसियाको वार्षिक साधारणसभामा भाग लिन जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य पनि सोमबारै थाइल्यान्ड गएका छन् ।

कान्तिपुर

Link copied successfully