नारायण स्पोर्ट्सले जित्यो सिनियर संस्कार क्रिकेटको उपाधि 

वैशाख ९, २०८२

चित्रांग थापा

Narayan Sports won the Senior Sanskar Cricket title

धनगढी — धनगढीको फाप्ला क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो संस्करणको ‘सिनियर संस्कार क्रिकेट प्रतियोगिता’को उपाधि नारायण स्पोर्ट्स क्लब कञ्चनपुरले जितेको छ । नारायण क्लबले युथ अफ टीकापुरलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

 जितसँगै नारायण स्पोर्ट्सले १ लाख ११ हजार १११ नगद पुरस्कार हात पारेको छ । उपविजेता युथ अफ टीकापुरले ५५ हजार ५५५ नगद प्राप्त गरेको छ ।

टस जितेर पहिला व्याटिङ रोजेको युथ अफ टीकापुर १३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटिएको थियो । टीकापुरका लागि सुदिप साउदले १६ तथा दिनेश राउतले १० रन बनाउनुबाहेक अन्य व्याट्सम्यानको प्रदर्शन निराशाजनक रह्यो । टीकापुरलाई सस्तैमा रोक्न नारायण क्लबका नेहाल दास र सचिन भट्टले समान ३/३ विकेट लिए ।

७९ रनको झिनो लक्ष्य नारायण स्पोर्ट्सले १२ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि राहुल चन्दले १७ र सुनिल चन्दले १६ रनको अविजित पारी खेले । बलिङतर्फ टीकापुर युथका सागर रावलले ३ विकेट हात पारे । 

कैलालीको गोदावरी नगरपालिका — ८ स्थित संस्कार विद्याश्रमको आयोजनामा चैत ३० देखि सुरु भएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो । फाइनल खेलका उत्कृष्ट खेलाडी नारायण स्पोर्ट्सका सचिन भट्ट घोषित भए । यसैगरी प्रतियोगिताको उत्कृष्ट व्याटरमा नारायण स्पोर्ट्सकै सुमित बुडाल, इमर्जिङ प्लेयरमा संस्कार विद्याश्रमका अनिल रावल तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडीमा नारायण स्पोर्ट्सका राहुल भण्डारी घोषित भए ।

प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ लगायतका अतिथिहरुले विजेता र उपविजेता टिमका खेलालाडीलाई पुरस्कार र ट्रफी प्रदान गरेका थिए । 

आयोजक समिति अध्यक्ष रामचन्द्र शाहीले यो प्रतियोगितालाई भविष्यमा निरन्तर सञ्चालन गर्ने लक्ष्य लिएको जानकारी दिए । 

चित्रांग थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

Link copied successfully