काठमाडौँ — आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘ए’ ले आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र २ कांस्य पदक जितेर ट्रफी उचालेको छ ।
ढल्कु तेक्वान्दो डोजाङ ४ स्वर्ण र ४ रजतसाथ दोस्रो भयो । तेस्रो भएको बुटवलले २ स्वर्ण, ५ रजत र ५ कांस्य जितेको थियो । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः १ लाख, ६० हजार र ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा स्वयम्भूका प्रज्ज्वल पौडेल र महिलामा आयोजककी विपिना तामाङ उत्कृष्ट खेलाडी घोषित भए । दुवैलाई ५ हजार रुपैयाँ प्रदान गरियो ।
दुईदिने प्रतियोगितामा ४ सय ७९ खेलाडीले ग्यारोगी र पुम्सेमा गरी ३६ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक मनोज खड्गीले जनाएका छन् ।
