सिनियर संस्कार क्रिकेट : नारायण स्पोर्टस् र युथ अफ टीकापुर फाइनलमा

वैशाख ८, २०८२

चित्रांग थापा

Senior Sanskar Cricket: Narayan Sports and Youth of Tikapur in the final

धनगढी — धनगढीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भइरहेको  सिनियर संस्कार क्रिकेट प्रतियोगिताको फाइनलमा कञ्चनपुरको नारायण स्पोर्टस् क्लब र युथ अफ टीकापुर उपाधिका लागि भिड्ने भएका छन् ।

सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल वेस्टर्न एकेडेमी धनगढीलाई ४ विकेटले पराजित गर्दै कञ्चनपुरको नारायण स्पोर्टस् क्लबले फाइनल यात्रा तय गरेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको नारायण स्पोर्टस् क्लबले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा २ सय १४ रन जोडेको थियो । २ सय १५ रनको लक्ष्य पछ्याएको नेपाल वेस्टर्न एकेडेमी १७ दशमलव ५ ओभरमा अलआउट हुँदै १ सय १९ रनमा समेटिन पुग्यो । 

सोमबार नै सम्पन्न अर्को सेमिफाइनलमा सायल गाउँपालिका डोटीलाई पराजित गर्दै युथ अफ टीकापुर फाइनलमा प्रवेश गरेको हो । सायलले दिएको १ सय ६ रनको लक्ष्य युथ अफ टीकापुरले १५ दशमलव ३ बलमा पूरा गर्दै फाइनलका लागि स्थान पक्का गरेको हो । प्रतियोगिताको फाइनल खेल मंगलवार हुनेछ । 

नारायण स्पोर्टस् क्लबका कप्तान लोकेन्द्र चन्दले आफ्नो टिममा अनुभवी खेलाडी रहेकाले जित सुनिश्चित भएको दाबी गरे । उनले बलिङ र ब्याटिङ दुवैमा आफ्नो टिमले उत्कृष्ट प्रदर्शन गर्ने बताए । यस्तै, युथ अफ टीकापुरका कप्तान डिकेन्द्र शाह आफ्नो टिमका खेलाडीको बलिङ सुरुदेखि नै कसिलो भएकाले जित पक्का भएको दाबी गर्छन् । ब्याटिङमा पनि सुधार हुँदै गएकाले आफ्नो टिम बलियो रहेको उनको भनाइ छ ।

प्रतियोगिता कैलाली र कञ्चनपुरका १३ टिमको सहभागितामा चैत ३० देखि सुरु भएको थियो । प्रथम टिमलाई १ लाख ११ हजार १११ र उपविजेतालाइ ५५ हजार ५५५ नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजक कमेटीका अध्यक्ष रामचन्द्र शाहीले बताए । कैलालीको गोदावरी नगरपालिका-८ स्याउले स्थित संस्कार विद्याश्रमले  सिनियर संस्कार क्रिकेट प्रतियोगिता आयोजना गरेको हो ।

चित्रांग थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

Link copied successfully