सल्यान — अन्तरपालिकास्तरीय टी–२० कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा त्रिवेणी गाउँपालिका विजयी भएको छ । शारदा नगरपालिकाको आयोजना र जिल्ला क्रिकेट संघ सल्यानको सहकार्यमा शारदा नगरपालिका–२ लुहापिङस्थित त्रिभुवन जनमाध्यमिक विद्यालयको खेल मैदानमा भइरहेको प्रतियोगितामा आइतबार त्रिवेणीले छत्रेश्वरी गाउँपालिकालाई २१ रनले पराजित गर्यो ।
छत्रेश्वरीले टस जितेपछि ब्याटिङको निम्ता पाएको त्रिवेणी १९ ओभरमा अलआउट हुँदै १ सय १९ रन जोड्यो । सुमित भण्डारीले ५५ बलमा ५३ रन बनाए । त्रिवेणीले अतिरिक्त ३० रन पाएको थियो । जवाफमा आएको छत्रेश्वरी १७ ओभरमा ९८ रनमा अलआउट भयो । सुरज केसी प्लेयर अफ द म्याच भए ।
अर्को खेलमा शारदा नगरपालिकाले सिद्धकुमाख गाउँपालिकालाई पराजित गरेको थियो । सिद्धकुमाख १५ ओभरमा १ सय ४६ रनमा अलआउट भयो । शारदा नगरपालिका–१३ ओभरमै १ सय ४७ रन बनायो ।
