तिलोत्तमा — रुपन्देहीमा १० औं मणिमुकुन्द कप पुरुष भलिबल इन्डो–नेपाल क्लब च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ ।
मणिमुकुन्द क्लबको आयोजनामा वैशाख १३ गतेसम्म सञ्चालन हुने रात्रिकालिन प्रतियोगितामा ३ विभागीय र एक भारतीयसहित ९ वटा क्लबको सहभागिता रहनेछ ।
उद्घाटन खेलमा आयोजक मणिमुकुन्द भलिबल क्लब र पाहुना टोली भारतको साग भलिबल एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । मणिमुकुन्द खेल मैदानमा प्रतियोगिता साँझ ६ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गण्डकी भलिबल संघ, कोशी प्रदेश भलिबल संघ, गलकोट भलिबल क्लब बाग्लुङ, मणिमुकुन्द भलिबल क्लब, सुदूरपश्चिम खेलकुल परिषद् र भारत गुजरातको साग भलिबल एकडेमी गरी कुल ९ वटा टिमको सहभागी छन् ।
प्रतियोगिताका विजेताले ३ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, उपविजेताले २ लाख, ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो स्थान हासिल गर्ने टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । खेलमा सान्त्वना स्थान हासिल गर्ने टिमले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् भने अन्य ८ विधामा समेत नगद पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए ।
बेस्ट प्लेयरलाई १५ हजार रुपैयाँसहित र कप र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै, बेस्ट सटरलाई १० हजार रुपैयाँ र बेस्ट ब्लकरलाई पनि १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीको खेल कौशल प्रदर्शन गर्ने र नेपालको राष्ट्रिय खेल भलिबलको विकास गर्ने उद्देश्यले हरेक वर्ष खेल गर्ने गरिएको अध्यक्ष भण्डारीको भनाइ छ । खेल सम्पन्न गर्नका लागि ६८ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिता अन्तर्गत गत वर्ष सम्पन्न ९ औं संस्करणको २ लाख राशि पुरस्कारको राष्ट्रिय भलिबलको उपाधि नेपाल आर्मी क्लबले जितेको थियो ।
