प्रतिकूल मौसमका कारण निराशा भोग्नुपर्ने अवस्था
काठमाडौँ — प्रतिकूल मौसमका कारण आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले निराशा भोग्नुपर्ने अवस्था बनेको छ । नेपाल र अफगानिस्तानबीच शनिबार निर्णायक खेल हुँदैछ ।
अर्को वर्ष जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।
अफगानिस्तानलाई बराबरीले पनि पुग्छ । तर मूलपानीमा शुक्रबारदेखि नै वर्षा भएकाले खेल हुने सम्भावना रहेको छैन । मूलपानी क्रिकेट मैदान वर्षाले पूर्ण रुपमा भिजेर पानी जमेको हुनाले खेल सञ्चालन हुने सम्भावाना नै देखिएको छैन । मसिनो वर्षा अझै रोकिएको छैन ।
बिहान ९ बजे टस हुने कार्यक्रम रहेको थियो । तर पिचसहित मैदानको आधा भाग कभरले पूर्ण रुपमा ढाकिएको छ । नतिजा आउनका लागि कम्तिमा २०–२० ओभरको खेल हुनुपर्छ ।
त्यसका लागि कम्तिमा दिउँसो २.३० बजे खेल सुरु हुनुपर्छ । अहिलेको स्थितिमा त्यो सम्भावना पनि निकै मुस्किल देखिन्छ ।
नेपाल र अफगानिस्तान पहिलो ३ खेल जितेर निर्णायक मोडमा आइपुगेका हुन् । तर अफगानिस्तान रन रेटमा नेपालभन्दा निकै माथि निकै रहेको छ । नेपाल, ओमान, यूएई अफगानिस्तान र हङकङ समावेश यो प्रतियोगिता राउन्ड रोबिनको आधारमा भइरहेको छ र विजेता टोली आईसीसी यू–१९ विश्वकपमा पुग्ने प्रावधान छ ।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानलाई १ विकेटले पराजित गरेको थियो । त्यसपछि नोभेम्बरमा यूएईमा भएको एसिया कपमा पनि नेपालले अफगानिस्तानमाथि विजय हात पारेको थियो । यो प्रतियोगिता नेपाल र अफगानिस्तान यू–१९ ले तीन खेलको शृंखला खेलेका थिए, जसमा अफगानिस्तान २–१ ले विजयी भएको थियो ।
