बट्टारमा मुख्यमन्त्री कप महिला फुटबल हुने

वैशाख ६, २०८२

कान्तिपुर संवाददाता

Chief Minister's Cup women's football will be held in Battara

काठमाडौँ — नुवाकोट जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजना तथा नुवाकोट जिल्ला फुटबल संघ सहयोगमा अर्को साता बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

बागमती प्रदेश खेलकुद परिषद र विदुर नगरपालिका संरक्षक रहने प्रतियोगितामा तीन विभागीय टोलीसहित ८ टोलीको सहभागिता रहनेछ । वैशाख १३ देखि २० सम्म बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको मैदानमा हुने प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी गराए । हरेक खेलको प्लेयर अफ द म्याच र विधागत उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, संकटा क्लब, गण्डकी प्रदेश संघ, रौतहट, पद्म स्पोर्ट्स टिमको सहभागिता निश्चित भएको छ । एउटा टोलीको केही दिनमा टुंगो लाग्ने जनाइएको छ ।

दर्शकका लागि अस्थायी प्यारापिट निर्माण गरिने पनि अध्यक्ष गुरुङले बताए । नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष देवनारायण चित्रकारले प्रतियोगितालाई संघको प्राविधिक सहयोग रहने बताए ।

मुख्यमन्त्री कप ब्याडमिन्टन पनि

नुवाकोटमा अर्को साता बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुनेछ । नुवाकोट जिल्ला खेलकुद विकास समितिकै आयोजनामा वैशाख १३–१५ सम्म हुने प्रतियोगितामा वरीयताको शीर्ष २० का खेलाडी रहने मेन्स डबल्स, भेट्रान्स ४० वर्षमाथि, मेन्स डबल्स (जिल्ला), मेन्स डबल्समा जिल्लाबाहिर, यू–१५ गर्ल्स र ब्वाइज तथा मिक्स डबल्स (३५ वर्षमाथि) मा‌ प्रतिस्पर्धा हुनेछ ।

बागमती प्रदेश खेलकुद परिषद् र विदुर नगरपालिका संरक्षक रहने प्रतियोगितालाई नेपाल ब्याडमिन्टन सघंको प्राविधिक सहयोग रहनेछ । नुवाकोट जिल्ला ब्याडमिन्टन संघ सहआयोजक रहने प्रतियोगितामा कोलोनी ब्याडमिन्टन ग्रुप सहयोगीमा छ ।

कान्तिपुर

Link copied successfully