नेकोस जुडोमा पाम सातौं पटक च्याम्पियन

वैशाख ५, २०८२

कान्तिपुर संवाददाता

Palm Seventh time Champion in Nekos Judo

काठमाडौँ — बन्दी सहायता नियोग (पाम) ले नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको ट्रफी जितेको छ । पामले विगतका ६ संस्करणमा पनि च्याम्पियन भएको थियो । २२ स्पर्धा समावेश सातौं संस्करणमा पाम सर्वाधिक ११ स्वर्ण, ४ रजत र ४ कांस्य जित्दै च्याम्पियन बन्यो ।

नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) दोस्रो भयो । एमएमएसीले ३ स्वर्ण, ५ रजत र ४ कांस्य हात पार्‍यो । तेस्रो भएको भुटानले २ स्वर्ण, ३ रजत र २ कांस्य प्राप्त गर्‍यो । बाँके र एपीएफले २–२ तथा दाङ र रुसले १–१ स्वर्ण जिते । पुरुषमा एमएमएसीका सदिन तामाङ र महिलामा पामकी कृष्णा महतारा उत्कृष्ट खेलाडी भए ।

पुरुष २० केजीमुनि विष्णु गिरी, २५ केजीमुनि अश्विन तामाङ, ३५ केजीमुनि बविन कुमाल दियाली, ५५ केजीमुनि दीपेश गुरुङ, ६० केजीमुनि सविनकुमार दियाली र ५० केजीमुनि सुरज समालले पामलाई स्वर्ण दिलाए । पामबाट स्वर्ण जित्नेमा महिला २८ केजीमुनि कृष्णा महतारा, ४४ केजीमुनि समिता नेपाली, ५२ केजीमुनि विनिता नेपाली, ३२ केजीमुनि शशिकला थापामगर र ४८ केजीमुनि रमा समाल थिए ।

एमएमएसीका सुवास बिकले पुरुष ३० केजीमुनि, सदिन तामाङले पुरुष ४० केजीमुनि र सरस्ता नापितले महिला ५७ केजीमुनि स्वर्ण जिते । भुटानका तेन्जिन दोर्जीले पुरुष ७३ केजीमाथि र किन्जाङ डेकीले महिला ६३ केजीमाथि स्वर्ण जिते । बाँकेकी खिमा रोकाले महिला ३६ केजीमुनि र कविता बुढाथोकीले महिला ४१ केजीमुनि स्वर्ण जितेका थिए । एपीएफका विशेष विकले पुरुष ६६ केजीमुनि तथा रेखा श्रेष्ठले महिला ६३ केजीमुनि पहिलो स्थान हात पारे ।

पुरुष ७३ केजीमुनि दाङका पारस रोका मगर तथा ४५ केजीमुनि रुसका डेविड मगोमेदोबले स्वर्ण हात पारे ।

विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामी, आयोजक राष्ट्रिय जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा सहभागी २० टिमलाई ५ थानका दरले जुडो गी प्रदान गरिएको थियो । करिब ४ लाख रुपैयाँ बराबरको गी प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully