लुम्बिनी कपलाई नेपालगन्ज रंगशाला तयार

वैशाख ५, २०८२

रुपा गहतराज

Nepalgunj Stadium ready for Lumbini Cup

नेपालगन्ज — बाँकेमा आठौं राष्ट्रिय खेलकुदको पछि ठूलो प्रतियोगिता आयोजना हुन सकेन । करोडौंको भौतिक संरचना त्यसै अलपत्र अवस्थामा छ । तर, लामो समयपछि अन्तर्राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता हुन लागेपछि नेपालगन्ज रंगशालामा रौनक थपिएको छ ।

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलका लागि रंगशालालाई चिटिक्क पारिएको छ । आठौं राष्ट्रिय खेलकुदपछि ठूलो प्रतियोगिता नेपालगन्ज रंगशालामा गर्न लागेकाले स्थानीय खेलाडी तथा फुटबलप्रेमीमा खुसी छाएको छ ।

प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने आयोजक अन्तरालको विश्वास छ । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गरिन लागेकाले केही महिनादेखि नै रंगशालाको सजावट थालिएको थियो । नियमित पानी राख्दा दुबो पलाएर यतिबेला रंगशाला हरियाली बनेको छ । वैशाख ५ देखि १२ सम्म हुने प्रतियोगिताका लागि रंगशाला सरसफाइ, रंगरोगन, खेलाडी आवास, यातायातको व्यवस्थालगायतका सबै काम पूरा भइसकेको प्रतियोगिता आयोजक अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले बताए ।

नियमित अभ्याससमेत नभइरहेको यो रंगशालामा पहिलो पटक लुम्बिनी कप महिला फुटबल हुने लागेको हो । सरसफाइ र मर्मतमा उचित बजेट नआउने भएकाले नेपालगन्ज रंगशाला जीर्ण बन्दै गएको थियो ।

आठौं राष्ट्रिय खेलकुदका बेलामा रोपिएको ४० लाखको बर्मुडा दुबोको नामोनिसान मेटिए पनि दैनिक स्याहार गर्दा स्थानीय दुबो पलाएर रंगशालालाई आर्कषक बनाइएको छ ।

शाहका अनुसार टिकट बिक्री, पार्किङ व्यवस्थापन, खेलाडी आवास र यातयातको व्यवस्थापन भइसकेको छ । प्रतियोगितामा भाग लिने टिम नेपालगन्ज आइपुग्ने क्रममा रहेको प्रचार संयोजक नीरज गौतमले बताए । बाँके जिल्ला फुटबल संघको समन्वयमा हुने प्रतियोगितामा घरेलु टिम बाँके–११, एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुढी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । विजेताले ५ लाख ५ हजार ५ सय ५५ राशिको पुरस्कार पाउनेछ ।

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully