सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सकारको नभई संघीय सरकारकै कारण दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएको बताएका छन् । खेलकुद क्षेत्रसँग सम्बन्धित संघ र प्रशिक्षकहरुसँग शुक्रबार भएको भेटघाटमा मुख्यमन्त्री कँडेलले प्रतियोगिता स्थगित हुनुमा प्रदेश सरकारको कुनै संलग्नता नरहेको समेत स्पष्ट पारे ।
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीमा हुने भनिएको थियो । प्रतियोगिताको पटक-पटक मिति सार्दासमेत आफूले खेल सुनिश्चित हुने गरी काम गर्न संघीय खेलकुद मन्त्रालयलाई सुझाव दिएको मुख्यमन्त्री कँडेलले बताए । प्रतियोगिता गर्ने भन्ने तर प्रतियोगिताका लागि आवश्यक तयारीका सम्बन्धमा अलमल गर्ने खेलकुद मन्त्रालयको समस्या आफूले अनुभव गरेको पनि मुख्यमन्त्री कँडेलले जानकारी दिए ।
पछिल्लो समय प्रतियोगिताका लागि सुर्खेतमा सचिवालय स्थापना भए पनि देखिने गरी काम नभएको मुख्यमन्त्री कँडेलले असन्तुष्टि जनाँउदै आएका थिए । खेलकुद प्रतियोगिता कर्णाली हुने भए पनि त्यसको मुख्य आयोजक संघीय सरकार भएकोले पूर्वाधारमा प्रदेशलाई सहयोगका लागि गरिएको आग्रहको समेत सुनुवाइ नभएको मुख्यमन्त्री कँडेलले गुनासो गरे । उनले भने, ‘विगतमा अन्यन्त्र आयोजना गरिएका राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधारमा लागि करोडौं खर्च गर्ने संघीय सरकारले कर्णाली प्रदेशमा निर्माण हुने पूर्वाधारमा पनि लगानी गर्नुपर्थ्यो, तर पूर्वाधारमा कुनै पनि लगानी भएन ।’ मुख्यमन्त्री कँडेलले प्रदेश दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न प्रदेश सरकारबाट कुनै कमी हुन नदिने पनि जानकारी दिए ।
अर्को प्रसंगमा मुख्यमन्त्री कँडेलले प्रदेश रंगशालाको काम सकेर हस्तान्तरण भएको दिन भुक्तानीका लागि कुनै समस्या नहुने बताए । 'काम सम्पन्न भएर हस्तान्तरण भयो भने बाँकी रकम दिन प्रदेश सरकार तयार छ, हामीलाई कुनै समस्या छैन,' उनले भने । रिक्त रहेको प्रदेश खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिमा नियुक्तिबारे छलफल गरेर चाँडै टुंगोमा पुग्ने पनि उनले बताए ।
खेल पदाधिकारीहरुलाई मुख्यमन्त्री कँडेलले प्रदेश खेलकुद नहुँदा पनि खेलकुदका गतिविधि नरोक्न र प्रतियोगिताको मिति घोषणा हुनासाथ बन्द प्रशिक्षणमा रहने खेलाडीहरुका लागि आवश्यक व्यवस्था गर्ने पनि बताए । उनले दोहोरो अंकको पदक हासिल गर्ने गरी तयारी गर्न खेलकुदका प्रशिक्षकहरुलाई निर्देशन दिए ।
