काठमाडौँ — दक्षिण कोरियाको इन्चोन सिटीमा जुलाई १९ देखि ३० सम्म हुने २० औं एसियन रोलर स्केटिङ प्रतियोगिताको तयारीलाई नेपाली महिला राष्ट्रिय रोलर डार्बी टिम भारत गएको छ । भारतको पन्जाबमा अप्रिल १८ देखि २८ सम्म १० दिने बन्द प्रशिक्षणमा हुनेछ ।
खेलाडीमा कृपा पन्त, प्रेसिका बोहरा, नयना शाक्य, प्रसुना लामा, आयुष्मा ठकुरी, निमिशा तामाङ, पासाङ याङ्जी शेर्पा, योगिना श्रेष्ठ र सुचिना भाजु छन् । टिम व्यवस्थापकमा सन्जु श्रेष्ठ र अफिसियलमा विकास लामा छन् ।
११ सदस्यीय नेपाली टोलीलाई राखेप सदस्यसचिव टंकलाल घिसिङ, बोर्ड सदस्य कमलप्रसाद भट्टराई र नेपाल स्केट तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले बिदाइ गरे । ६ महिनादेखि नेपालमा तयारी गरिराखेको महिला टोली थप तयारीका लागि भारत गएको संघका महासचिव सत्य थापाले बताए ।
नेपाली महिला रोलर टोलीलाई यति एयरलाइन्सले सहप्रायोजन गरेको छ । नेपालमा रोलर स्केटिङ खेल निकै सम्भावना बोकेको खेल भएकाले यसलाई एसियन च्याम्पियनसिपमा रोलर डार्बीको टिमले नेपाललाई पदक दिलाउन सक्ने गरी तयारी गरिएको रोलर डार्बीका प्रमुख प्रशिक्षक दिलीपराज बरालले बताए ।
