मधेश प्रिमियर लिग : जनकपुर र मिथिला विजयी

वैशाख ४, २०८२

कान्तिपुर संवाददाता

Madhesh Premier League: Janakpur and Mithila won

राजविराज — तेस्रो मधेश प्रिमियर लिग (एमपीएल) मा बिहीबार दुई खेलमा जनकपुर सनराइजर्स र मिथिला वायर्स विजयी भएका छन् । स्थानीय पवि माविको मैदानमा पहिलो खेलमा जनकपुरले छिन्नमस्ता रुपनी मधेश राइडर्सलाई २ विकेटले हरायो ।

राइडर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १३ रन बनायो । दीपेश दासले २८, अभिषेक कार्कीले २१, शंकर रानाले १७, रोहन बिकले १२, सन्तोष काकीर्ले ११ रन जोडे । सनराइजर्सका तुलबहादुर मगरले ३, विशाल सुस्लिङ २, विशाल पटेल, आरिफ सेख र रुपेश यादवले १–१ बिकेट लिए ।

जवाफमा जनकपुरले १५.३ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पार गरेको थियो । विशाल पटेल ३२, अखिल श्रवण २४, विशाल सुस्लिङ, मयन यादव र आदिल खानले १२–१२ रन जोडे । छिन्नमस्ता रुपनीबाट दिनेश अधिकारी, अभिषेक कार्की, दिवान पुनले २–२ विकेट तथा हेमन्त धामीले एक विकेट लिए । प्लेयर अफ द म्याच विशालकुमार पटेल भए ।

दोस्रो खेलमा काठमाडौं रोयल्समाथि मिथिला वायर्स १४ रनले विजयी भयो । पहिले ब्याटिङ गर्दै वायर्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५८ रन बनायो । सुमित महर्जनले ५३, रवि साहले ३०, दीपेन्द्रसिंह ऐरीले अविजित २३, वसन्त खत्रीले १४ र बसिर अहमदले १० रनको योगदान दिए । रोयल्सका अमित श्रेष्ठ ३, रामनरेश गिरी २, रुपेश सिंह, दीपेश श्रेष्ठ र नरेन साउदले १–१ विकेट लिए । जवाफी ब्याटिङमा रोयल्सले २० ओभर खेल्दै ९ विकेट क्षतिमा १ सय ४४ रनमात्र जोड्न सफल भयो । शुक्रबार कोशी दुहबी क्यापिटल र सप्तरी बलान बिहुल तथा जनकपुर सनराइजर्स र मिथिला वायर्सबीच प्रतिस्पर्धा हुनेछ ।

कान्तिपुर

Link copied successfully