कास्की — क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाडौं र गण्डकी हिरोज पोखरामा जारी केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
पोखरा क्रिकेट मैदानमा बिहीबार भएको खेलमा काठमाडौंले हिमाल फ्रेन्ड्स क्रिकेट एकेडेमी र गण्डकी हिरोजले अत्तरिया क्रिकेट एकेडेमीलाई पराजित गरे । पानी परेपछि पहिलो सेमिफाइनल ५ ओभर खेलाइएकोमा काठमाडौंले १० रनको जित निकाल्यो । दोस्रो सेमिफाइनल गण्डकीले टसमार्फत जितेको हो ।
५८ रनको लक्ष्य पछ्याएको हिमाल फ्रेन्ड्स निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर ४७ रनमा समेटियो । हिमाल फ्रेन्ड्सका ओपनर सुबोध ऐरी १३ रनमा आउट भए । उनले ८ बलमा २ चौका प्रहार गरे । अभिनाष सिंह १२, दीपक रोकाया ४ रनमा आउट भए । आशिष तिरुवा १३ र अयुव चन्द २ रनमा नटआउट रहे । काठमाडौंका लागि मनोज यादवले २ र युनिश विक्रमसिंह ठकुरीले १ विकेट लिए ।
टस हारेर ब्याटिङ गरेको काठमाडौंले ५ ओभरमा १ विकेट गुमाएर ५७ रन बनाएको थियो । ओपनर रित गौतम २८ रन बनाएर रिटायर्ड हर्ट भए । अर्को खेलाडीलाई खेल्न दिन अम्पायरलाई जानकारी नदिई मैदान छोड्नु रिटायर्ड हर्ट आउट हो । आउट हुनुअघि उनले १७ बलमा ३ चौका प्रहार गरेका थिए । अर्जुन घर्ती १३ र दीपेन्द्र रावत ८ रनमा नटआउट रहे । काठमाडौंका मनोज यादव प्लेयर अफ द म्याच बने । उनले ५ हजार रुपैयाँसहित ट्रफी पुरस्कार पाए ।
दोस्रो सेमिफाइनलमा अत्तरिया क्रिकेट एकेडेमीले उत्कृष्ट सुरूवात गरेको थियो । टस हारेर ब्याटिङ थालेको अत्तरियाले १३.३ ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनायो । वर्षा भएपछि खेल रोकियो । टसमार्फत निर्णय हुँदा गण्डकी फाइनल प्रवेश गर्यो ।
अत्तरियाका विपिन रावलको प्रदर्शन उत्कृष्ट रहृयो । ३३ बल खेलेका उनले ७२ रन बनाए । उनले १२ चौका र २ छक्का प्रहार गरे । खगेन्द्र जोशी २०, अभिषेक पाल १९ र निश्चल क्षेत्री ९ रनमा आउट भए । टेक रावत १० रनमा नटआउट रहे । गण्डकी हिरोजका लागि मिलन बोहोराले ३ ओभरमा ३ विकेट लिए । नारायण जोशीले १ विकेट लिए ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा चैत २३ देखि जारी प्रतियोगिताको फाइनल शुक्रबार बिहान ९ बजे हुनेछ । विजेताले १० लाख, उपविजेताले ५ लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
