‘लो स्कोरिङ’ खेलमा पन्जाबको चमक

वैशाख ३, २०८२

एजेन्सी

Punjab shines in 'low scoring' game

मोहाली — पहिला ब्याटिङ गरेको पन्जाब किंग्सलाई मंगलबार १६ ओभरभित्र १ सय ११ रनमा अलआउट गरेपछि कोलकाता नाइट राइडर्सले सपना देख्न सुरु गरिसकेको थियो । पन्जाबको स्कोर पन्छाउने हो भने कोलकाता इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्षस्थानमा पुग्यो ।

तर, त्यो कोलकाताका लागि सपना मात्र रह्यो । पन्जाबका युजभेन्द्र चाहल र मार्को यान्सेनको सानदार बलिङपछि कोलकाता मुल्लानपुरमा १५.१ ओभरमा ९५ रनमै अलआउट भयो । यो खेल आईपीएल इतिहासकै सानो स्कोर रक्षा गरेको खेलको कीर्तिमानमा दर्ज भयो ।

चाहलको ४ विकेटपछि कोलकाता १३ ओभरमा ७९–८ को स्थितिमा पुगिसकेको थियो । एन्ड्रे रसेलले १४ औं ओभरमा चाहललाई २ छक्का र १ चौका प्रहार गरेपछि कोलकातालाई जितनिम्ति ३६ बलमा १७ रन आवश्यक थियो । अर्सदीप सिंहले मेडन विकेट ओभर राख्नेक्रममा १५ औं ओभरको अन्तिम बलमा वैभव अरोरालाई विकेट पछाडि क्याच गराए । १६ औं ओभरको पहिलो बलमा यान्सेनले रसेललाई इनसाइड एजमा बोल्ड गर्दै पन्जाबलाई सनसनीपूर्ण विजय दिलाएका थिए ।

प्लेयर अफ द म्याच चाहलले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिएका हुन् । यान्सेनले ३.१ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अर्सदीपले ३ ओभरमा १ मेडन राख्दै ११, ग्लेन म्याक्सवेल र जेभियर बार्टलेट १–१ विकेट लिए ।

कोलकाताबाट अंगकृष रघुवंशीले २८ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरी ३७ रन बनाए । कप्तान अजिन्क्या रहाने र रसेलले समान १७ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । क्विन्टन डी कक २, सुनिल नारिन ५, बैंकटेश ऐर ७, रिंकु सिंह २ रनमै आउट भएका थिए ।

यसअघि पन्जाबको ब्याटिङ पनि त्यस्तै थियो । ओपनरद्वय प्रियांश आर्यले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरी २२ तथा प्रभसिमरन सिंहले १५ बल खेल्दै २ चौका र ३ छक्कासहित ३० रन बनाए । आर्यलाई १२ रनमा आउट गरि हर्षित रानाले यो साझेदारी तोडे । नेहल बाधेरा १०, शशांक सिंह १८ र बार्टलेट ११ रनमा आउट भए । कप्तान श्रेयस ऐर पहिलो बलमा, जोस इङ्लिस २, म्याक्सवेल ७ र सूर्यांश सेज ४ रनमा आउट भए ।

कोलकाताबाट रानाले ३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । 

वरुण चक्रवर्तीले ४ ओभरमा २१ र नारिनले ३ ओभरमा १४ रन खर्चेर २–२ तथा अरोरा र एनरिच नोकिएले १–१ विकेट लिए । ६ खेलमा चौथो जितसहित पन्जाब चौथो स्थानमा उक्लिएको छ । शीर्ष पाँच स्थानका टोलीको ८ अंक छ । कोलकाता ६ अंकसहित छैटौं स्थानमा छ ।

एजेन्सी

Link copied successfully