लुम्बिनी कप महिला फुटबलको तयारी पूरा

वैशाख ३, २०८२

कान्तिपुर संवाददाता

Preparations for Lumbini Cup Women's Football are complete

नेपालगन्ज — नेपालगन्ज रंगशालामा वैशाख ५ देखि हुने लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

वैशाख १२ सम्म हुने प्रतियोगिताका लागि सबै व्यवस्थापनको काम पूरा भएको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।

टिकट बिक्री, पार्किङ व्यवस्थापन, खेलाडी आवास व्यवस्थापन र यातायात व्यवस्थापनको कार्य भइसकेको उनले बताए ।

प्रतियोगिताका लागि टिम आउने क्रम सुरु भएको मिडिया संयोजक नीरज गौतमले बताए । त्रिभुवन आर्मी क्लबको टिम नेपालगन्ज आइसकेको छ । नेपाल र भारतका गरी ८ टिमको सहभागिता रहनेछ ।

घरेलु टिम बाँके ११, एपीएफ, नेपाल पुलिस क्लब, आर्मी, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुढी एफसी, रौतहट जिल्ला फुटबल संघ टिमले प्रतिस्पर्धा गर्नेछन् । बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुने प्रतियोगिता विजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिता हेर्न  सिजनल फुल प्याकेज १५ सयको टिकट व्यवस्था गरिएको आयोजकले जनाएको छ । विद्यार्थीका लागि सहुलियत दिइनेछ । खेल हेर्न भीआईपी प्यारापिट र साधारण प्यारापिटअनुसार टिकट व्यवस्था गरिएको जनाइएको छ ।

कान्तिपुर

Link copied successfully