हङकङ यू–१९ विरुद्ध नेपालको बलिङ

वैशाख ३, २०८२

कान्तिपुर संवाददाता

Nepal bowling against Hong Kong U-19

काठमाडौँ — नेपाल यू–१९ ले एसीसी यू–१९ विश्वकप एसिया छनोटमा बुधबार हङकङ यू–१९ विरुद्ध पहिला बलिङ गरिरहेको छ । नेपालले तल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेपछि हङकङलाई ब्याटिङका लागि बोलाएको हो ।

नेपाली टोलीमा एक परिवर्तन गरिएको छ । तीब्र बलर दयानन्द मण्डलको स्थानमा नेपालले विपीन शर्मालाई खेलाएको छ । 

चार महिनाअघि सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा इमर्जिङ प्लेयरमा चुनिएका विपिनको प्रतियोगितामा यो पहिलो खेल हो । उनले पहिलो खेलमै हङकङविरुद्ध विकेट पनि लिइसकेका छन् । 

यतिबेला हङकङले ८ ओभरको समाप्तिमा १ विकेट गुमाएर ३२ रन बनाएको छ । 

नेपालले पहिलो दुई खेल जितिसकेको छ । पहिलो खेलमा यूएईलाई ५ रनले पराजित नेपालले दोस्रो खेलमा ओमानमाथि ८ विकेटको विजय हात पारेको थियो । हङकङ पहिलो खेलमा ९० रनमा अलआउट भएपछि अफगानिस्तानसँग ८ विकेटले पराजित भएको थियो ।

अफगानिस्तानले पनि पहिलो दुई खेल जितिसकेको छ । नेपाल, ओमान, यूएई अफगानिस्तान र हङकङ समावेश यो प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुनेछ र विजेता टोली आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ ।

कान्तिपुर

Link copied successfully