कास्की — अत्तरिया क्रिकेट एकेडेमी पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा क्रिकेट मैदानमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई पराजित गरेसँगै अत्तरियाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । समूह ‘डी’को खेलमा अत्तरियाले मालपोखरीलाई ६ विकेटले पराजित गर्यो ।
१ सय २५ रनको लक्ष्य पछ्याएको अत्तरियाले १४.१ ओभरमा ४ विकेट गुमाएर १ सय २८ रन बनायो । अत्तरियाका लागि ओपनर अभिषेक पालले सर्वाधिक ३८ रन बनाए । उनले ५ चौका र २ छक्का प्रहार गरेर रनआउट भए । निश्चल क्षेत्रीले ३०, बिपीन रावलले १६, टेक रावतले १४, अर्जुन विकले १२ र खगेन्द्र जोशीले ४ रन बनाए । निश्चल र अर्जुन नटआउट रहे । मालपोखरीका सन्दीप खड्का, सिरज हवारी र दब्लु मलिकले १–१ विकेट लिए ।
टस हारेर ब्याटिङ थालेको मालपोखरी १७.४ ओभरमा १ सय २४ रन बनाएर अलआउट भयो । मालपोखरीका विजय गुप्ताले सर्वाधिक ३८ रन बनाए । ३६ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । दब्लु मलिक र जितेश मण्डलले १७–१७, सोहनकुमार यादवले १६, सिरज हवारीले १३, अकिल खानले ९, रनवीर यादवले २ र सन्दीप खड्काले १ रन बनाए । अकिल नटआउट रहे भने सन्दीप रनआउट भए । आतिश दास, चन्दन यादव र पंकज यादवले रन बनाउन सकेनन् । अत्तरियाका अर्जुन विक, हिक्मत महर, सौर्य श्रेष्ठ, सुशील साउदले २–२ र भोजराज भट्टले १ विकेट लिए ।
समूह चरणकै अर्को खेलमा होराइजन क्रिकेट क्लबले सुन्दरहरैंचा क्रिकेट क्लबलाई ७ विकेटले हरायो । १ सय ४० रनको लक्ष्य पाएको होराइजनले १२.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । होराइजनका लागि आरिफ खानले ३३ बलमा ६ चौका र ८ छक्काको सहयोगमा सर्वाधिक ८० रन बनाए । अमर मिश्र ३७ रनमा नटआउट रहे । निश्चल ज्ञवाली १० र सुमन पाण्डे १ रनमा आउट भए । ४ बल खेलेका अमर विष्ट २ रनमा नटआउट रहे । सुन्दरहरैंचाका लागि प्रकाश कार्की, आयुष डंगेल र रितेश रायले १–१ विकेट लिए ।
टस हारेर ब्याटिङ थालेको सुन्दरहरैंचाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । उसका लागि मनिष थापाले सर्वाधिक ४७ रन बनाए । उनले २८ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । रितेश राय र समीर कार्की २३–२३, ओमबहादुर कुँवर र म्रिनल गुरुङले १३–१३, गौरव कटवालले ४, सन्दीप ढुंगाना र आयुष ढुंगेलले १–१ रन बनाए । ३ बल खेलेका रुपक बरालले रन जोड्न सकेनन् । होराइजनका लागि निर्मल गुरुङ र शुभम खनालले २/२, महेश भार, अमर मिश्र र निश्चल ज्ञवालीले १/१ विकेट लिए ।
बुधबारको खेलमा अत्तरियाका अर्जुन विक र होराइजनका आरिफ खान उत्कृष्ट खेलाडी बने । उनीहरुले ५–५ हजार रुपैयाँसहित ट्रफी पुरस्कार पाए । समूह ‘डी’ को शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको अत्तरियाले ३ वटै खेल जित्यो । २ खेल जितेर १ खेल हारेको होराइजन ४ अंक साथ दोस्रो, १ खेल जितेको मालपोखरी तेस्रो भए । ३ वटै खेल हारेको सुन्दरहरैंचा अंकतालिकाको पुछारमा रहृयो ।
प्रतियोगितामा सीईसी काठमाडौं, गण्डकी हिरोज र हिमाल फ्रेन्ड्स सेमिफाइनल प्रवेश गरिसकेका छन् । बिहीबार पहिलो सेमिफाइनलमा काठमाडौं र हिमाल फ्रेन्ड्स, दोस्रो सेमिफाइनलमा गण्डकी र अत्तरिया खेल्नेछन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा जारी १६ टिम सहभागी प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ । विजेताले १० लाख, उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
