काठमाडौँ — युवराज खत्रीले लगातार दोस्रो खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपाल यू–१९ ले एसीसी यू–१९ विश्वकप एसिया छनोटमा हङकङ यू–१९ विरुद्धको खेल जित्न १ सय १६ रनको लक्ष्य पाएको छ ।
तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारपछि ब्याटिङमा आएको हङकङ ४६.२ ओभर खेल्दै केवल १ सय १५ रनमा अलआउट भयो । यूएईविरुद्धको अघिल्लो खेलमा १७ रन खर्चेर ५ विकेट लिएका लेग स्पिनर युवराजले बुधबार पनि ४ विकेट लिएपछि हङकङको ब्याटिङ तहस नहस भएको थियो ।
युवराजले १० ओभरमा १८ रनमात्र खर्चेका थिए । हङकङबाट सर्वाधिक ६३ रन बनाएका शिव माथुरलाई पनि युवराजले नै आउट गरेका थिए । माथुरले १ सय १६ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे ।
ओपनर पन्जावनीले १३, वीर माथुरले १२ र हृयारी थोमस हेडसनले १० रन बनाए । नेपाली टोलीमा एकमात्र परिवर्तनको रुपमा तीव्र बलर दयानन्द मण्डलको स्थानमा आएका विपिन शर्मालाई खेलाइएको थियो । चार महिनाअघि सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा इमर्जिङ प्लेयरमा चुनिएका विपिनले प्रतियोगितामा पहिलो खेल खेल्ने क्रममा ३ विकेट लिए । उनले ६.२ ओभरमा २४ रन खर्चे ।
अभिषेक तिवारीसँग नयाँ बल लिएर आएका विपिनले आफ्नो पहिलो ओभरमै जुड ली थोमसलाई शून्यमा आउट गरी नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । अर्का देव्रेहाते स्पिनर सन्तोष यादवले १० ओभरमा २० रन खर्चेर २ विकेट लिए । अशोक धामीको नाममा १ विकेट रहयो ।
नेपालले पहिलो दुई खेल जितिसकेको छ । पहिलो खेलमा यूएईलाई ५ रनले पराजित नेपालले दोस्रो खेलमा ओमानमाथि ८ विकेटको विजय हात पारेको थियो । हङकङ पहिलो खेलमा ९० रनमा अलआउट भएपछि अफगानिस्तानसँग ८ विकेटले पराजित भएको थियो ।
अफगानिस्तानले पनि पहिलो दुई खेल जितिसकेको छ । नेपाल, ओमान, यूएई अफगानिस्तान र हङकङ समावेश यो प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुनेछ र विजेता टोली आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ ।
