धनकुटा — धनकुटामा जारी पन्ध्रौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महालक्ष्मी नगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा महालक्ष्मीलाई दोस्रो पटक उपाधि मिलेको हो ।
चौबिसे गाउँपालिकाको संयोजन तथा राजारानीस्थित पुण्य माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगितामा महालक्ष्मीले ३१ स्वर्ण, २५ रजत र ८ कास्यसहित पहिलो स्थान प्राप्त गर्दै शिल्ड हात पारेको छ । यसैगरी, १८ स्वर्ण, १६ रजत तथा ३० कास्यसहित धनकुटा नगरपालिकाले दोस्रो स्थान प्राप्त गरेको छ । तेस्रो भएको चौबिसे गाउँपालिकाले ५ स्वर्ण ७ रजत ११ कांस्य जितेको छ ।
प्रतियोगितामा स्वर्ण ६६, रजत ६६ र १३८ कास्य पदकको लागि प्रतिस्पर्धा भएको थियो । प्रत्येक खेलका विजेताले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सहभागी हुन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न प्रतिस्पर्धाका लागि धनकुटाका सात पालिकाका सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको पुण्य माविका प्रधानाध्यापक तथा खेल संयोजक युवराज कटवालले जानकारी दिए ।
आलोपालो रूपमा जिल्लाका सबै पालिकाले प्रतियोगिताको संयोजन गर्दै आएको चौबिसे पालिका अध्यक्ष राजकुमार चेम्जोङले बताए । प्रतियोगिताको उद्घाटन संघीय सांसद राजेन्द्रकुमार राईले गरेका थिए ।
चौधौं संस्करण महालक्ष्मी नगरपालिकाले संयोजन गरेको थियो भने आगामी वर्षको प्रतियोगिता साँगुरीगढी गाउँपालिकाले संयोजन गर्ने आयोजकले जनाएको छ ।
