काठमाडौँ — नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा सातौं नेकोस अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा भुटान र थाइल्यान्डसहित नेपालका विभिन्न जिल्ला/क्लबबाट गरी २ सय ५० खेलाडीको सहभागिता रहने मंगलबार पत्रकार सम्मेलनमा राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले बताए ।
पुरुषमा १२ र महिलामा ११ तौल समूहमा २१ वर्षमुनिका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । वैशाख ४ मा ११ र वैशाख ५ मा १२ स्पर्धाको फाइनल हुनेछ ।
सोही प्रतियोगिताका दौरान नेकोस र राष्ट्रिय जुडो संघसहित नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको संयुक्त आयोजनामा प्रथम पारा जुडो प्रतियोगिता पनि हुनेछ । पुरुषमा ६० केजीमुनि र महिलामा ५२ केजीमुनि तौल समूहमा खेल खेलाइने छ ।
यसै प्रतियोगितामा समावेश स्पर्धाबाट जापानमा नोभेम्बरमा हुने डेफ ओलम्पिकमा भाग लिने खेलाडीको छनोट गरिने अध्यक्ष श्रेष्ठले बताए । दुईदिने प्रतियोगिताका खेल खुसिबुस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा खेलाइने छ ।
