कास्की — पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय खुल्ला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा अत्तरिया क्रिकेट एकेडेमी र मालपोखरी क्रिकेट क्लब विजयी भएका छन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘डी’अन्तर्गत मंगलबारको खेलमा अत्तरिया र मालपोखरी विजयी भएका हुन् । अत्तरियाले होराइजन क्रिकेट क्लबलाई र मालपोखरीले सुन्दरहरैंचा क्रिकेट क्लबलाई समान ४–४ विकेटले पराजित गरे ।
१ सय ४० रनको लक्ष्य पाएको अत्तरियाले १८.२ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रन बनायो । टेक रावतले सर्वाधिक ६१ रन बनाए । उनले ४२ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै अविजित रहे । बिपीन रावलले २६, अर्जुन विकले १६, हिक्मत महरले १३, खगेन्द्र जोशीले ८, निश्चल क्षेत्रीले ५, बसन्त खत्रीले १ रन बनाए । ३ बल खेलेका ओपनर अभिषेक पालले रन बनाउन सकेनन् । होराइजनका लागि तुलबहादुर थापा र शुभम खनालले २/२ तथा महेश भार र निर्मल गुरुङले १–१ विकेट लिए ।
टस हारेर ब्याटिङ गरेको होराइजनले १९.१ ओभरमा १० विकेट गुमाएर १ सय ४० रन बनायो । होराइजनको सुरूवात राम्रो हुन सकेन । होराइजनले दुवै ओपनरलाई शून्य रनमा गुमायो । होराइजनका लागि कमल विष्टले सर्वाधिक ३९ रन बनाए । उनी ४६ बलमा ३ चौका र १ छक्का प्रहार गरेर आउट भए । बिपर्सन केसी ३५ रनमा नटआउट रहे । उनले १५ बलमा ४ चौका र २ छक्का प्रहार गरे । नरबहादुर सार्की २७, निर्मल गुरुङ १३, आरिफ खान ५, तुलबहादुर थापा ४, शुभम खनाल ३, सुमन पाण्डे र महेश भार १–१ रनमा आउट भए ।
अत्तरियाका बसन्त खत्रीको बलिङ उत्कृष्ट रहृयो । उनले १.१ ओभरमा ४ रन खर्चिएर ३ विकेट लिए । भोजराज भट्टले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सुशील साउदले २, हिक्मत महर र अर्जुन विकले समान १–१ विकेट लिए ।
दोस्रो खेलमा १ सय २९ रनको विजयी लक्ष्य पाएको मालपोखरीले १७.३ ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन बनायो । मालपोखरीका लागि विजय गुप्ताले सर्वाधिक ५९ रन बनाए । ४६ बलमा ८ चौका र २ छक्का प्रहार गरेका उनी रनआउट भए । रनवीर यादव १४, सोहनकुमार यादव १३, डब्लु मलिक १०, आतिश दास ९ रनमा आउट भए । चन्दन यादव र आशिष सिग्देलले समान ४–४ रनमा नटआउट रहे । ४ बलको सामना गरेका जितेश मण्डलले रन बनाउन सकेनन् । सुन्दरहरैंचाका समीर कार्कीले २, सन्दीप ढुंगाना, प्रकाश कार्की र ओमकार यादवले १–१ विकेट लिए ।
टस जितेर ब्याटिङ थालेको सुन्दरहरैंचा २० ओभरमा १ सय २८ रनमा अलआउट भयो । समीर कार्कीले सर्वाधिक ३१ रन बनाए । उनले १९ बलमा २ चौका र ३ छक्का प्रहार गरे । म्रिनल गुरुङ १९, रुपक बराल १७, गौरब कटवाल र सन्दीप ढुंगाना १४–१४, मनिष थापा १०, रोहन शाह ५, समीर तिम्सीना २, रितेश राय र ओमकार यादव १–१ रनमा आउट भए । मालपोखरीका लागि सिरज हवारी र जितेश मण्डलले २–२, सन्दीप खड्का, पंकज यादव र सोहनकुमार यादवले समान १–१ विकेट लिए ।
मंगलबारको खेलमा अत्तरियाका टेक रावत र मालपोखरीका विजय गुप्ता प्लेयर अफ द म्याच भए । उनीहरुले ५–५ हजार रुपैयाँसहित ट्रफी पाए । लगातार २ खेल जितेर ४ अंक साथ अत्तरिया समूह ‘डी’को शीर्ष स्थानमा उक्लिएको छ । २ खेलमा १ जित र १ हारसहित २ अंक साथ होराइजन दोस्रोमा छ ।
२ मध्ये १ खेल जितेर अर्को खेल हारेको अत्तरिया तेस्रो स्थानमा छ । अंक बराबर भएपनि नेट रनरेटको आधारमा होराइजन दोस्रो स्थानमा रहन सफल भएको हो । दुवै खेलमा पराजित सुन्दरहरैंचा अंकविहीन हुँदै तालिकाको पुछारमा छ । बुधबार समूह चरणको अन्तिम खेलमा होराइजन र सुन्दरहरैंचा, अत्तरिया र मालपोखरी खेल्नेछन् ।
