फाइनलमा नेपाल स्तब्ध

वैशाख १, २०८२

कान्तिपुर संवाददाता

Nepal shocked in the final

काठमाडौँ — बसिर अहमद र नन्दन यादवको साहसका बाबजुद नेपाल चारदेशीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा कुवेतसँग ३ रनले पराजित भएको छ । हङकङमा भइरहेको प्रतियोगितामा आइतबार १ सय ७५ रनको लक्ष्य लिएर आएको नेपालले १४ ओभरमा ९२ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो ।

नेपाललाई बाँकी ३६ बलमा ८३ रन बनाउनुपर्ने चुनौती थियो । यहींबाट बसिर र नन्दनले नवौं विकेटमा २८ बलमा ७२ रनको साझेदारी गरेपछि नेपाल विजयको नजिक पुगेको थियो । नन्दन १४ बलमा २ चौका र ४ छक्का प्रहार गरी ३७ रनमा आउट भए । त्यसपछि आएका ललित राजवंशीले २ बलमा कुनै पनि रन बनाउन सकेनन् । 

अन्तिम ओभरमा नेपाललाई जितका लागि ११ रन चाहिन्थ्यो र हातमा १ विकेट मात्र बाँकी थियो । बसिरले अन्तिम ओभरको पहिलो बलमै छक्का प्रहार गरे, जुन नो बल पनि रहेको थियो । यस्तो अवस्थामा नेपाललाई ५ बलमा विजयका लागि ४ रन मात्र बनाउनुपर्ने थियो । तर त्यसपछिको दुई बलमा कुनै रन बनाउन नसकेको बसिर चौथो बलमा आउट हुन पुगेपछि नेपाली टोली स्तब्ध हुन पुग्यो । बसिरले ४३ बल खेली ८ चौका र ४ छक्कासहित ८० रन बनाए । 

नेपालबाट कुशल भुर्तेल ३, आसिफ शेख ११ बलमा ३ चौका र १ छक्का प्रहार गरी २१, कप्तान रोहित पौडेल ७, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी शून्य, सोमपाल कामी ४, गुलशन झा ९, करण केसी ४ रनमा आउट भएका थिए । कुवेतका अनुदीप चेन्थमराले ३ विकेट लिए । बसिरसहितको विकेट लिने क्रममा उनले २.३ ओभरमा १८ रन मात्र खर्चे । यासिन पटेल र नवीनराज राजेन्द्रनले २–२ विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा आएको कुवेतले दमदार सुरुआत गरे पनि टोली अन्त्यमा खुम्चिएको थियो । ओपनर रविजा सन्दरुवानले ३६ बलमा ६३ रन बनाए । उनले ६ चौका र ४ छक्का प्रहार गरे । क्लिन्टो एन्टो २६, मीत भवसार १६, उसमान पटेल २३, मोहम्मद उमर ७, बिलाल ताहिर ९ रनमा आउट भए भने कप्तान मोहम्मद अस्लामले १५ बलमा अविजित १३ रन बनाए । 

नेपालबाट सोमपाल र नन्दनले २–२ विकेट लिए । सोमपालले ४ ओभरमा २६ र नन्दनले ४ ओभरमा ३४ रन खर्चे । करण र भुर्तेलले १–१ विकेट लिए । नेपालले फाइनलमा पुग्ने क्रममा कुवेतलाई ६ विकेट र कतारलाई ८ विकेटले पराजित गरेको थियो भने हङकङसँगको खेल वर्षाका कारण रद्द भएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully