पर्वत र आयोजक एलिट च्याम्पियन

वैशाख १, २०८२

कान्तिपुर संवाददाता

Mount and Host Elite Champion

कास्की — प्रथम एलिट भलिबल कपमा पुरुषतर्फ पर्वत र महिलातर्फ आयोजक एलिट भलिबल टिम च्याम्पियन बनेका छन् । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा महानगरपालिका–३ नदीपुरमा सोमबार भएको प्रतियोगिताको फाइनलमा पर्वत र आयोजक एलिट विजेता बनेका हुन् ।

पर्वतले पिरामिड कन्ट्रक्सन हङकङलाई ३–१ को सेटमा पराजित गरेको राष्ट्रिय भलिबल टिम कप्तान एवं प्रतियोगिता संयोजक अरुणा शाहीले जानकारी दिइन् । पहिलो सेट २६–२४ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको पर्वतले तेस्रो सेट १७–२५ ले पिरामिड कन्ट्रक्सनलाई सुम्पिएको थियो । चौंथो सेटमा २५–२२ को जित निकाल्दै पर्वतले उपाधि हात पारेको हो । उपाधिसँगै पर्वतले १ लाख, उपविजेता पिरामिडले ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाए ।

महिलातर्फ आयोजक टोली एलिट भलिबलले बागलुङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो । एलिट भलिबलले पहिलो सेटमा २५–२२, दोस्रो सेटमा २५–१६ र तेस्रो सेटमा २५–१६ को सहज जित निकाल्यो । च्याम्पियन एलिट भलिबलले ५० हजार रुपैयाँसहित ट्रफी हात पार्‍यो । उपविजेता बागलुङ नगरपालिकाले २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो ।

पुरुषतर्फ सञ्जुविक्रम शाह र महिलातर्फ मिना सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भए । पुरुषतर्फ रेशम छन्त्याल बेस्ट सर्भर, बेस्ट सर्टर विवश आले, सुगम विक बेस्ट ब्लकर, सन्तोष विक बेस्ट स्पाइकर र जितबहादर सार्की बेस्ट डिफेन्डर घोषित भए । महिलातर्फ रिक्जना बोटे बेस्ट सर्भर, रेबिना घर्ती बेस्ट सेटर,  विष्णु क्षेत्री बेस्ट ब्लकर, सोइङ थापा बेस्ट स्पाइकर र काजल श्रेष्ठ बेस्ट डिफेन्डर बने । सर्वोत्कृष्ट पुरुष खेलाडीले ५ हजार, सर्वोत्कृष्ट महिला खेलाडीले ३ हजार, विधागततर्फ उत्कृष्ट पुरुष खेलाडीले २ हजार र महिलातर्फ १ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ८ टिम सहभागी थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully