केपी ओली कप : अत्तरिया र होराइजन विजयी

वैशाख १, २०८२

अनुप पौडेल

KP Oli Cup: Attaria and Horizon won

कास्की — पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगितामा अत्तरिया क्रिकेट एकेडेमी र होराइजन क्रिकेट क्लब विजयी भएका छन् । पोखरा क्रिकेट मैदानमा सोमबार भएको समूह ‘डी’ अन्तर्गतको खेलमा अत्तरियाले सुन्दरहरैंचा क्रिकेट क्लब र होराइजनले मालपोखरी क्रिकेट क्लबलाई पराजित गरेका हुन् । अत्तरिया १ विकेट र होराइजन ४२ रनले विजयी भए । 

टस हारेर ब्याटिङ थालेको सुन्दरहरैंचाले १७ ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनायो । सन्दीप ढुंगाना सर्वाधिक ३० रन बनाएर रनआउट भए । उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । समीर कार्कीले २६, ओमकार यादवले २३, मनिष थापाले २०, गौरव कटवालले १७, म्रिनल गुरुङले ५, रितेश रायले ४ रन बनाए । अत्तरियाका लागि अर्जुन विकले २, बसन्त खत्री र भोजराज भट्टले समान १–१ विकेट लिए । 

जवाफी ब्याटिङमा अत्तरियाले निर्धारित १७ ओभरको खेलमा १६.३ ओभरमा १ सय ४१ रन बनायो । अत्तरियाका लागि ओपनर अभिषेक पालले अर्धशतक प्रहार गरे । उनले ४० बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए । विपीन रावलले ४६ रन बनाए । उनले २७ बलमा ५ चौका र २ छक्का प्रहार गरे । टेक रावत २४ रनमा नटआउट रहे । निश्चल क्षेत्रीले ४, अर्जुन विकले ३ र खगेन्द्र जोशीले १ रन बनाए । बसन्त खत्री, अभिषेक कोइराला, सुशील साउद र भोजराज भट्टले रन बनाउन सकेनन् । सुन्दरहरैंचाका सन्दीप ढुंगाना, प्रकाश कार्की र समीर कार्कीले समान ३–३ विकेट लिए । 

सुन्दरहरैंचाले १० ओभरपछि बलिङमा निकै राम्रो प्रदर्शन गरे पनि अत्तरियालाई रोक्न सकेन । सुन्दरहरैंचाले १० औं ओभरको अन्तिम बलमा अत्तरियाका ओपनर अभिषेक पालको विकेट लिएको थियो । ११ औं ओभर सुरू हुँदा अत्तरियाले १ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । उसलाई जितका लागि ६ ओभरमा २८ रन आवश्यक थियो । तर, सुन्दरहरैंचाले एकपछि अर्को विकेट लिएपछि अत्तरिया दबाबमा परेको थियो । खेलको अन्तिम ओभरमा आइपुग्दा अत्तरियाले ९ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । निकै दबाबमा रहेको अत्तरियाका लागि टेक रावतले अन्तिम ओभरमा २ छक्का प्रहार गरे । योसँगै अत्तरिया हारबाट जोगियो । 

सुन्दरहरैंचाका प्रकाश कार्कीको बलिङ सम्झनलायक रहृयो । उनले खेलको १४ औं ओभरमा लगातार ३ विकेट लिएपछि अत्तरियालाई दबाब परेको थियो ।  दोस्रो खेलमा होराइजन क्रिकेट क्लबले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६६ रन बनायो । होराइजनका लागि कमल विष्टले सर्वाधिक ३७ रन बनाए । ४१ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे । बिपर्सन केसीले ३२ रन बनाए । उनले २० बलमा ३ छक्का प्रहार गरे । सुमन पाण्डे २४ रन बनाएर रनआउट भए । नरबहादुर सार्कीले १८, निर्मल गुरुङले नटआउट १३, अमर मिश्राले १२, आरिफ खानले १०, ओपनर निश्चल ज्ञवालीले १, तुलबहादुर थापा र प्रिन्स पालले पनि १–१ रन बनाए । 

मालपोखरी क्रिकेट क्लबका लागि सन्दीप खड्का र सिरज हवारीले समान ३–३, जितेश मण्डल र दब्लु मलिकले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मालपोखरी १९.४ ओभरमा १ सय २३ रन बनाएर अलआउट भयो । मालपोखरीका लागि विजय गुप्ताले सर्वाधिक ३२ रन बनाए । उनले २४ बलमा २ चौका र १ छक्का प्रहार गरे । दब्लु मलिकले २६, जितेश मण्डलले २५, चन्दन यादवले ९, सोहनकुमार यादवले ८, रनवीर यादवले ७, सन्दीप खड्काले ४, पंकज यादवले २ र आशिष सिग्देलले १ रन बनाए । होराइजनका लागि निर्मल गुरुङ, अमर मिश्रा र बिपर्सन केसी र निश्चल ज्ञवालीले समान २–२, महेश भार र प्रिन्स पालले १–१ विकेट लिए । 

जितसँगै अत्तरिया र होराइजनले २–२ अंक जोडेका छन् । सोमबारको खेलमा अत्तरियाका अभिषेक पाल र होराइजनका बिपर्सन केसी प्लेयर अफ द म्याच बने । उनीहरुले ५–५ हजार रुपैयाँसहित ट्रफी पुरस्कार पाए । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा मंगलबार समूह ‘डी’कै अत्तरिया र होराइजन तथा सुन्दरहरैंचा र मालपोखरी क्लब खेल्नेछन् । 

अनुप पौडेल

Link copied successfully