अमेरिकामा तेक्वान्दो निर्णायक काजल सम्मानित

वैशाख १, २०८२

कान्तिपुर संवाददाता

Kajal Awarded Taekwondo Judge in America

काठमाडौँ — नेपाली तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित भएकी छन् । काजललाई न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लब यूएसएले नगद र सम्मानपत्रले सम्मानित गरेको हो । ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण तथा एसिया प्यासेफिक सितोरियो करातेका स्वर्णधारी, क्लबका प्रशिक्षक तथा अध्यक्ष सुनील लामाले जानकारी गराए ।

काजललाई एसियाडका कांस्य तथा सागका स्वर्ण र रजत विजेता मनिता शाहीबाट ३ सय अमेरिकी डलर र पुष्प थापा मगरबाट १ सय अमेरिकी डलर गरी कुल ४ सय अमेरिकी डलर, सम्मानपत्र प्रदान गरिएको थियो । काजल अमेरिकाको टेक्सासमा भएको डालास इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप २०२५ मा निर्णायक बन्न अमेरिका पुगेकी छन् । 

१३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी २७ वर्षीय काजल गत वर्ष तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्री बनेकी थिइन् । त्यसयता उनले जापान, अस्ट्रेलिया र थाइल्यान्डमा निर्णायकको भूमिका निभाइसकेकी छन् । उनले जापानको ओसाकामा उत्कृष्ट निर्णायकको अवार्डसमेत जितेकी थिइन् । एक दशक लामो खेलाडी करिअरपछि रेफ्रीको भूमिकामा देखिन थालेकी उनी ग्योरोगी र पुम्से दुवै विधाका अन्तर्राष्ट्रिय रेफ्री हुन् ।

कान्तिपुर

Link copied successfully