बन्द प्रशिक्षणका लागि महिला क्रिकेट टोली भैरहवामा

चैत्र ३१, २०८१

सन्जु पौडेल

Women's cricket team at Bhairahawa for closed training

तिलोत्तमा — नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बन्द प्रशिक्षणका लागि भैरहवा आएको छ । शनिबार साँझ रुपन्देही आएको टोलीले दोस्रो चरणको प्रशिक्षण गर्न यहाँ आएको हो । आगामी मे महिनामा हुने विश्वकप एसिया छनोटको खेलको तयारी गर्न बन्द प्रशिक्षण चलेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को कार्यक्रमअनुसार मे महिनामा थाइल्याण्डमा एसिया क्षेत्र छनोट खेल हुँदैछ । यसको तयारी स्वरुप यसअघि पहिलो चरणको बन्द प्रशिक्षण भइसकेको छ । दोस्रो चरणमा भैरहवामा बन्द प्रशिक्षण सुरु गरिएको नेपाल क्रिकेट संघका क्रिकेट अप्रेसन म्यानेजर विनोदकुमार दासले बताए ।

२६ सदस्यीय महिला क्रिकेट टोली भैरहवा आइपुग्दा खेलप्रेमीले उनीहरुलाई स्वागत गरेका छन् भने उनीहरुको उपस्थितीले सिद्धार्थ क्रिकेट मैदानको गरिमा बढेको रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष निरज प्रताप खांणले बताए । उक्त टिमको प्रशिक्षण आजदेखि वैशाख १७ गतेसम्म चल्नेछ । यो बन्द प्रशिक्षणपछि नेपाली टिम थाइल्याण्ड प्रस्थान गर्नेछ ।

इन्दु वर्माको कप्तानीमा रहेको राष्ट्रिय महिला क्रिकेट टिमले १८ दिन भैरहवामा प्रशिक्षण लिनेछ ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully