विराटनगर — विराटनगरको वाईआरसीसी क्रिकेट क्लब चौथो मिल्स कप इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ ।
विराटनगर जुट मिल खेल मैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा भारतको पटनाको हाइपर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै वाईआरसीसी लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।
विजेता वाईआरसीसीले नगद २ लाख १ हजार रुपैयाँ हात पारेको छ भने उपविजेता पटनाले १ लाख १ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
यसअघि तेस्रो संस्करणको प्रतियोगितामा वाईआरसीसीले विराटनगरकै होराइजन क्रिकेट क्लबलाई हराएर उपाधि जितेको थियो । मिल्स मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पटनाको टिम १६ दशमलव ३ ओभरमा अलआउट हुँदै १०१ रनमा समेटियो ।
पटनाका लागि सुदर्शन कुमारले सर्वाधिक ४६ रन बनाए । उनले ३२ बलको सामना गरेका थिए । त्यस्तै, पुरुषोत्तम कुमारले ६ बलमा १६ र नन्द किशोरले १६ बलमा ११ रन बनाए । टिमका अन्य ब्याट्सम्यानहरू दोहोरो अंकमा पुग्न सकेनन् ।
वाईआरसीसीका बलरहरू हेमन्त धामी र राम नरेश गिरीले उत्कृष्ट प्रदर्शन गर्दै ३–३ विकेट लिए । हेमन्तले ४ ओभरमा ३२ रन खर्चिए भने रामले ३ दशमलव ३ ओभरमा १३ रन दिएर तीन विकेट हात पारे ।
१०२ रनको सामान्य लक्ष्य पछ्याएको वाईआरसीसीले मात्र ८ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । स्टार ब्याट्सम्यान इमरान शेखले जितमा निर्णायक भूमिका निभाए । उनले ३२ बलमा ७२ रनको अविजित पारी खेल्दै ६ छक्का र ७ चौका प्रहार गरे । उत्कृष्ट प्रदर्शनका लागि इमरान ’प्लेयर अफ द म्याच’ घोषित भए र नगद ३ हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै, वाईआरसीसीका शुभ कंसाकारले ७ बलमा १२ र लोकेश बमले ८ बलमा १६ रनको योगदान दिए । पटनाका बलरहरू रेहान दास गुप्ता र नन्द किशोरले १–१ विकेट लिए ।
मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा सम्पन्न यस प्रतियोगितामा नेपालका ६ र भारतका ६ गरी कूल १२ टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको वाइआरसीसीका नरेश गिरी उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पाए । बेस्ट बलरमा होराइजनका दिपेश कँडेल र बेस्ट ब्याटरमा पटनका कुमार श्रेय भए । उनीहरुले जनही नगद १५ हजार पाए ।
विजता हुने खेलाडीहरुलाई क्रिकेट संघ नेपालका उपाध्यक्ष रोशन सिंहले पुरस्कार वितरण गरेका थिए ।
