तारा महिला ओपन गल्फ च्याम्पियन

चैत्र ३०, २०८१

कान्तिपुर संवाददाता

Tara Women's Open Golf Champion

काठमाडौँ — रोयल नेपाल गल्फ क्लबमा शनिबार महिला गल्फर तारा कार्की चित्रकारले नेपाल महिला ओपन गल्फ प्रतियोगिताको उपाधि जितेकी छन् ।

ताराले ३७ अंक प्राप्त गर्दै उपाधि जितिन् । राष्ट्रिय टिमकी खेलाडी ताराले इलेक्ट्रिक स्कुटर र आर्सिया कोउटुरबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।

राष्ट्रिय टिमकी सम्झना खत्री ३६ अंकसहित दोस्रो भइन् । सम्झनाले पनि ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरिन् । उनले तीन बर्डी प्रहार गर्दै मोस्ट बर्डिजको उपाधि जितिन् ।

यू–१९ तर्फ अभानी राईले उपाधि जितिन् । उनले ३४ अंक जोडिन् । सन्ध्या राई २६ अंकसहित सिनियरतर्फ विजयी भइन् । सुपर सिनियरमा कल्याणी मोक्तान सफल भइन् । उनले १३ अंक जोडिन् ।

पार्वती सुवेदीले बेस्ट फ्रन्टनाइन र अञ्जली योञ्जनले बेस्ट ब्याकनाइनको उपाधि जिते । पार्वतीले १८ र अञ्जलीले १९ अंक जोडेका थिए । जुनी गुरुङले लङ्गेस्ट ड्राइभ, बलकाशी गुरुङले क्लोजेस्ट टु दी पिन, अञ्जलिका सिन्हाले स्ट्रेट ड्राइभ, रिजु राईले बेस्ट स्पोर्ट्सम्यानसिप र न्यायाधीश सपना प्रधान मल्लले लक्की ‘ड’्र को पुरस्कार प्राप्त गरे ।

शीर्ष १० खेलाडीले आइतबार हुने दोस्रो तथा अन्तिम राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । तारा, सम्झना, अञ्जली, अभानी, पार्वती, रानु बानियाँ, सुष्मा सिंह, सुमित्रा लिम्बू, सन्ध्या राई र देवी पुलामी मगर लागि छनोट भएका हुन् ।

विजेतालाई अभिनेत्री मनिषा कोइराला, न्यायाधीश सपना प्रधान मल्ल, आरएनजिसीका अध्यक्ष मधुकर याक्थुम्बा, क्याप्टेन मिथुन राई, लेडी क्याप्टेन तथा प्रमुख आयोजक अर्शिया बानु र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेलगायतले पुरस्कार प्रदान गरे ।

कान्तिपुर

Link copied successfully