काठमाडौँ — अन्तर्राष्ट्रिय हक्की महासंघ (एफआईएच) स्थापना भएको १०० औं वर्षको अवसरमा नेपालमा पनि अन्तर्राष्ट्रिय हक्की दिवस मनाइएको छ ।
नेपाल हक्की संघले शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतको उपस्थितिमा दिवस मनाएको हो । त्रिपुरेश्वरस्थित राखेपमा भएको कार्यक्रममा उपाध्यक्ष आचार्यले दिवसका अवसरमा शुभकामना दिँदै वर्तमान कार्यसमितिले हक्कीलाई अगाडि बढाउन प्रशंसनीय कार्य गरेको बताए ।
हक्की संघका अध्यक्ष अनिल शर्माले नेपालमा हक्कीको विगत र वर्तमान अवस्थाबारे प्रकाश पारेका थिए ।
राखेप कार्यकारी समितिकी सदस्य तथा हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले हक्कीको रंगशाला निर्माण गर्न धुलिखेलमा जग्गा प्राप्त भएको जानकारी गराउँदै पूर्वाधार निर्माण गर्न प्रारम्भिक कार्य अगाडि बढिरहेको बताइन् । उनले ललितपुरको च्याससलमा वैशाख १५ गतेदेखि प्रतियोगिता गरिने पनि जानकारी गराइन् ।
हक्की संघ सातौं संघका रूपमा २०११ सालमा राखेपमा दर्ता भएको थियो । एफआईएच १९२४ मा स्थापना भएको थियो । एफआईएचमा १ सय ४० राष्ट्र आबद्ध छन्
