केपी ओली कप : मधेशमाथि लुम्बिनीको जित

कर्णाली र हिमालले १–१ अंक बाँडे

चैत्र ३०, २०८१

कान्तिपुर संवाददाता

KP Oli Cup: Lumbini win over Madhesh

कास्की — केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्रिकेट क्लबले मधेश प्रदेश क्रिकेट क्लबमाथि जित निकालेको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरा क्रिकेट मैदानमा जारी प्रतियोगिताअन्तर्गत शनिबारको खेलमा लुम्बिनीले मधेशमाथि ५ विकेटको जित निकाल्यो ।

पानी परेर मैदान बिग्रिएपछि खेल १९ ओभरमा झारिएको थियो । १ सय २९ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभरमा ५ विकेट गुमाउँदै १ सय ३१ रन बनायो । लुम्बिनीका लागि रञ्जित खत्रीले सर्वाधिक ५४ रन बनाए । उनले ४५ बलको सामना गर्दा ५ चौका र २ छक्का प्रहार गरे ।

ओपनर देव खनाल ४३ रनमा बोल्ड भए । उनले २३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । मोहम्मद हुसेन र सन्दीप राजालीले १३–१३, तुलबहादुर थापाले ७ रन बनाए । निश्चल चौधरी र प्रज्वल थापाले रन बनाउन सकेनन् । मधेशका लागि प्रदीप पासवान र हरिशंकर शाहले २/२ तथा पप्पु यादवले १ विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ थालेको मधेशले १९ ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनायो । रूपेश सिंहले सर्वाधिक २८ रन बनाए । उनले १ चौका र २ छक्का हाने । पप्पु यादवले १७, प्रदीप पासवानले १३, अरनिको यादवले १२, अफ्रुदीन रेनले ११, दीपेश दासले ९, विशाल पटेलले ६, अभिषेक कार्कीले ४, विशाल सुस्लिङले ३ र रोहन विकले १ रन बनाए । लुम्बिनीका लागि अजयकुमार चौहानले ३, देव खनालले २ तथा मोहम्मद हुसेन, सन्देश थापा र अभिषेश गौतमले समान १/१ विकेट लिए । देव प्लेयर अफ दि म्याच बने । उनले ५ हजार रुपैयाँ र ट्रफी पुरस्कार पाए । 

शनिबारलाई नै तय भएको कर्णाली एकेडेमी र हिमाल फ्रेन्ड्सबीचको खेल पानीले मैदान बिग्रिएपछि स्थगित भयो । दुवै टिमले १/१ अंक बाँडे । बराबर ३/३ अंक भएपनि नेट रनरेटको आधारमा हिमाल फ्रेन्ड्स समूह ‘सी’को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । हिमाल फ्रेन्ड्सको १.१८१८ र कर्णालीको ०.८८२४ अंक छ । कर्णाली अंक तालिकाको दोस्रो स्थानमा छ ।  

लुम्बिनी अंक तालिकाको तेस्रो र मधेश प्रदेश पुछारमा छ । २ खेलमा १ खेल जितेको र १ हार व्यहोरेको लुम्बिनीको २ अंक छ । दुवै खेलमै हार व्यहोरेको मधेश अंकविहीन छ ।  

वैशाख ५ सम्म चल्ने प्रतियोगितामा आइतबार समूह ‘सी’ को अन्तिम खेल हुनेछन् । जसअनुसार लुम्बिनी खुकुरीले कर्णाली एकेडेमी र मधेश प्रदेशले हिमाल फ्रेन्ड्सको सामना गर्नेछ । 

कान्तिपुर

Link copied successfully