काठमाडौं महानगर टिम च्याम्पियन

चैत्र ३०, २०८१

कान्तिपुर संवाददाता

Kathmandu Metropolitan Team Champion

काठमाडौँ — काठमाडौं महानगरपालिकाले पाँचौं बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार ५ स्वर्ण, ४ रजत र ४ कांस्य जित्दै ट्रफी उचालेको छ ।

जैसीदेवल युथ क्लबले आयोजना गरेको प्रतियोगितामा नागार्जुन नगरपालिका ५ स्वर्ण, १ रजत र १ कांस्यसहित दोस्रो भयो । तेस्रो स्थानमा रहेको आयोजक जैसीदेवलले ४ स्वर्ण, २ रजत र ५ कांस्य पदक जितेको थियो ।

स्युचाटारमा भएको प्रतियोगिताको ग्योरोगीतर्फ पुरुषमा जैसीदेवलका राहुलजंग लिम्बू तथा महिलामा चन्द्रागिरि नगरपालिकाकी स्मारिका शाही ठकुरी उत्कृष्ट खेलाडी चुनिए । पुम्सेतर्फ पुरुषमा रोजिन प्रजापति र महिलामा एन्जिला मोक्तान उत्कृष्ट खेलाडी चुनिए । दुवै जैसीदेवलका हुन् । उत्कृष्ट चारैले जनही १ सय ५० अमेरिकी डलर पाए ।

प्रशिक्षकमा च्याम्पियन टिम काठमाडौंका सुजन खड्का उत्कृष्ट प्रशिक्षक तथा बच्चन मगर उत्कृष्ट निर्णायक बने । दुवैलाई १–१ सय अमेरिकी डलर प्रदान गरियो ।

विजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, तार्केश्वर नगरपालिकाका मेयर हरिकृष्ण महर्जनलगायतले पुरस्कृत गरे । काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजनमा दुई आयोजित प्रतियोगितामा आयोजकका दुईसहित २० टिमका ४ सय ३५ खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

कान्तिपुर

Link copied successfully