बारा — ए डिभिजनको टिम हिमालयन शेर्पा क्लबले १५औं जितपुर सिमरा गोल्डकपको उपाधि उचालेको छ । सिमरा रंगशालामा शुक्रबार राति फ्लडलाइटमा भएको फाइनल प्रतियोगितामा उसले अर्को ए डिभिजनको टिम मच्छिन्द्र फुटबल क्लबविरुद्ध निर्धारित समयमै फराकिलो गोल अन्तरको नतिजा निकाल्दै जितपुर सिमरा गोल्डकपको उपाधि उचालेर च्याम्पियन बनेको हो ।
उपाधि भिडन्तमा हिमालयन शेर्पा क्लबले मच्छिन्द्र फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै दोस्रोपटक जीतपुरसिमरा गोल्डकपको च्याम्पियन बनेको हो । शेर्पाले यसअघि दोस्रो संस्करणको उपाधि जितेको थियो ।
उपाधि हात पार्ने विजेता हिमालयन शेर्पाले १० लाख नगद र ट्रफी प्राप्त गर्यो भने उपविजेता मच्छिन्द्रले ५ लाखमा चित्त बुझायो । गत १४ औं संस्करणको फाइनल प्रतियोगितामासमेत पराजित मच्छिन्द्र लगातार दोस्रोपटक पनि उपविजेतामै सिमित रहन पुगेको हो ।
हिमालयन शेर्पालाई उपाधि दिलाउने क्रममा कप्तान विश्वास श्रेष्ठले दुई तथा रोबर्ट खोङजो र समिरराज थोकरले समान १/१ गोल गरेका थिए । मच्छिन्द्रका लागि रञ्जन पुनले एकमात्र सान्त्वना गोल ग ।
मच्छिन्द्रविरुद्ध खेलको तेस्रो मिनेटमै हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले सुरुवाती गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको २७औं मिनटमा मच्छिन्द्रका लागि रञ्जन पुनले बराबरी गोल गरेका थिए । तर मच्छिन्द्रले बराबरी गरेको केहीबेरमै फेरि पनि हिमालयन शेर्पाले अर्को एक गोल गर्दै अग्रता कायमै राख्यो । समिरराज थोकरले खेलको २९औं मिनटमा रोबर्टको क्रस पासलाई गोलमा परिणत गर्दै हिमालयन शेर्पालाई २–१ को स्थितिमा पुर्याए ।
पहिलो हाफको इन्ज्युरी समयमा रोबर्ट खोङजोले आकर्षक गोल गर्दै हिमालयन शेर्पाको अग्रता फराकिलो पारे । सेन्टरलाइनबाट एक्लै बल अघि बढाएका रोबर्टले मच्छिन्द्रको रक्षापंक्तीलाई बिट गर्दै वन भर्सेस वनको स्थितिमा निकै सानदार गोल गरेका थिए ।
पहिलो हाफमा ३–१ ले पछि परेको मच्छिन्द्र दोस्रो हाफमा सम्हालिन नपाउँदै १० खेलाडीमा सिमित बन्यो । मच्छिन्द्रका गोलरक्षक विशाल सुनार रातो कार्ड पाएर मैदानबाट बाहिरिए । हिमालयन शेर्पाका रोबर्ट खोङजोले किपर विट गरेको अवस्थामा विशालले हातले रोबर्टको खुट्टा तानेर लडाएपछि फिफा रेफ्री नविन्द्र महर्जनले सिधै रातो कार्ड दिँदै विशाललाई मैदान बाहिर पठाएका थिए ।
गोलरक्षकले रातो कार्ड पाएपछि मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले वैकल्पिक गोलरक्षक सुरेश सदालाई गोल पोष्टमा पठाउन अनिल खड्कालाई मैदानबाट फिर्ता बोलाएका थिए । हिमालयन शेर्पाले पाएको पेनाल्टी अवसरलाई कप्तान विश्वास श्रेष्ठले गोलमा परिणत गर्दै ४–१ को फराकिलो अन्तर निकाल्न सफल भएका थिए ।
फाइनल खेलको ग्रीन इनर्जी म्यान अफ दी म्याच हिमालयन शेर्पाका अमित तामाङ भए । उनले १० हजार नगद र ट्रफी पाए । मच्छिन्द्र फुटबल क्लबका रोबर्ट खोङजो भिएक्सएल एजुकेशन प्लयेर अफ दी टुर्नामेन्ट घोषित भए । उनले इलेक्ट्रिक स्कुटर प्राप्त गरे ।
उच्च गोलकर्ताको पुरस्कार पनि रोबर्टले नै पाए । रोबर्टले प्रतियोगितामा सर्वाधिक ३ गोल गरेका थिए । क्वाटरफाइनल र सेमिफाइनलमा १–१ गोल गर्दै दुवै खेलको म्यान अफ दी म्याच जितेका रोबर्टले फाइनल खेलमा थप एक गोल गर्दै २५ हजार राशीको सो पुरस्कार जिते ।
उत्कृष्ट गोलरक्षक हिमालयन शेर्पाका विवश चौधरी र उत्कृष्ट प्रशिक्षक हिमालयन शेर्पाका प्रज्वल प्रताप क्षेत्री घोषित भए । उनीहरु दुबैले समान २५ हजार र ट्रफी प्राप्त गरे ।
उदयमान स्थानीय खेलाडीलाई प्रदान गरिने इमर्जिङ प्लेयरको अवार्ड घरेलु टिम आयोजक नव जनजागृति सिमराका सेरब लो तामाङ घोषित भए । उनले १५ हजार राशीको सो पुरस्कार पाए । उक्त पुरस्कार हाल अष्ट्रेलियामा रहेका फुटबल खेलाडी रवि पासवानले प्रायोजन गरेका थिए । फेयर प्लेको ट्रफी सलहेश युवा क्लबलाई प्रदान गरियो ।
विजेता तथा उपविजेता टिम र खेलाडीहरुलाई पूर्वमन्त्री तथा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य (संघीय सांसद) कृष्णकुमार श्रेष्ठ, मधेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाललगायतले पुरस्कार प्रदान गरेका थिए ।
