तिलोत्तमा — बुटवलमा सम्पन्न प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि ट्रिनिटी युवा क्लब वालिङले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा राइजिङ स्टार क्लब कपिलवस्तुलाई १–० गोल ले हराउँदै उसले उपाधि जितेको हो ।
खेलमा ट्रिनेटी युवा क्लब वालिङकी यशोदा शाहीले गरेको गोल नै निर्णायक गोल बन्यो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएकोमा दोस्रो हाफको २२ औं मिनेटमा शाहीले टिमका लागि गोल गर्दै अग्रता दिलाएकी थिइन् । कपिलवस्तुले राम्रा अवसर गुमायो र कुनै गोल गर्न सकेन ।
फाइनल खेलको प्लेयर अफ दि म्याच ट्रिनिटी क्लबकी स्कोरर यशोदा शाही भइन् । प्रतियोगिताको उपाधि विजेता ट्रिनिटी युवा क्लब वालिङले १ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता राइजिङ स्टार क्लबले ५० हजार पायो ।
प्रतियोगितामा ट्रिनिटी युवा क्लब वालिङकी सिमरन राई उत्कृष्ट खेलाडी भइन् । उनले २५ हजार तथा मेडल प्राप्त गरिन् । यसैगरि उत्कृष्ट गोलकिपर राइजिङ स्टार क्लब, कपिलवस्तुकी सुनयना चौधरी, वेस्ट फरवार्ड ट्रिनिटी क्लब वालिङकी पूर्णिमा राई, वेस्ट डिफेन्ड राइजिङ स्टारकी धना बोहोरा, उत्कृष्ट प्रशिक्षक ट्रिनिटी युवा क्लबका दिलिप थापा घोषित भए । उनीहरुले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।
बीस पचहत्तर युवा क्लबको आयोजनामा भएको प्रतियोगतामा आयोजक बीस पचहत्तर युवा परिवार, सुनवल नगरपालिका, विरगन्ज युथ एकेडेमी, वसन्त युनाइटेड क्लब चितवन, हेटौंडा फुटबल एकेडेमी, राइजिङ स्टार युवा क्लब कपिलवस्तु, ट्रिनिटी क्लब वालिङ, एमएससी भारतसहित ८ टिमको सहभागिता रहेको थियो ।
