मेयरकप अन्तरपालिका क्रिकेटको उपाधिका लागि विराटनगर र इटहरी भिड्ने

चैत्र ३०, २०८१

अर्जुन सुवेदी

Biratnagar and Itahari will compete for the title of Mayor Cup inter-municipal cricket

सुनसरी — दोस्रो संस्करणको मेयरकप अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विराटनगर महानगरपालिका र इटहरी उपमहानगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।

इटहरी–९ स्थित जनता क्रिकेट खेल मैदानमा शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा विराटनगरले दमक नगरपालिकालाई ८ विकेटले पराजित गर्दै इटहरीसँगको उपाधि भिडन्त पक्का गरेको हो । इटहरीले यसअघि नै इलामको माई नगरपालिका माथि शुक्रबार ४२ रनको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।  

दमकले प्रस्तुत गरेको ९० रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १० दशमलव ५ बलमा २ विकेट गुमाउँदै सहजै पूरा गर्‍यो । विराटनगरका लागि मिनस थापाले नटआउट ३८ र चिराग शाहले २० रन बनाएर टिमलाई जिताए । त्यसअघि सकिब हकले १० रन बनाउँदा विराटनगरले अतिरिक्त १४ रन उपहार पाएको थियो । दमकको लागि दुवै विकेट छविलाल खड्काले लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दमकले निर्धारित २० ओभरमा १८ दशमलव ३ बल खेल्दै ८९ रन मात्र बनाउन सकेको थियो । दमकको इनिङमा हिमांशु गिरीले २४, सुगम बुढाथोकीले २१ र अविनाश सिंहले १० रन मात्र बनाउन सके । विराटनगरका अमर यादवले ४ विकेट लिँदा कृतिक कामतले २ विकेट हात पारे । खेलको म्यानअफ दि म्याच विराटनगरका अमर यादव घोषित भएसँगै नगद १ हजार ५ सय रुपैयाँ र ट्रफी पाए । विराटनगर र इटहरीबीचको उपाधि भिडन्त आइतबार हुनेछ । कोशी प्रदेशका १८ पालिका सहभागी प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार पाउने आयोजक सेभेन स्टार क्लबले जनाएको छ ।

अर्जुन सुवेदी

Link copied successfully