कास्की — एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरामा प्रथम एलिट भलिबल कप सुरु भएको छ । पोखरा महानगरपालिका–३ नदीपुरस्थित एकेडेमीमा सुरु प्रतियोगिताको गण्डकी प्रदेश खेलकुद परिषद् उपाध्यक्ष धोजकुमार गुरुङले उद्घाटन गरे ।
पहिलो दिन शुक्रबार पुरुषतर्फ आयोजक एलिट एकेडेमी र महिलातर्फ पृथ्वीनारायण क्याम्पस विजयी भएको प्रतियोगिता संयोजक एवं राष्ट्रिय महिला भलिबल टोली कप्तान अरुणा शाहीले जानकारी दिइन् । एलिटले श्रीकृष्ण दल गणलाई ३–२ को सेटमा पराजित गरेको हो । महिलातर्फ पृथ्वीनारायण क्याम्पसले महेन्द्र माध्यमिक विद्यालयलाई ३–० को सोझो सेटमा पराजित गर्यो । पृथ्वीनारायण क्याम्पस सेमिफाइनल प्रवेश गरेको छ ।
पुरुषतर्फको विजेताले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । महिलातर्फको विजेताले ५० हजार, उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने संयोजक शाहीलाई बताइन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीलाई ५ हजार, सर्वोत्कृष्ट महिला खेलाडीलाई ३ हजार, विधागततर्फ उत्कृष्ट पुरुष खेलाडीलाई २ हजार र महिलातर्फ १ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ ।
वैशाख १ सम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ८ टिम सहभागी छन् । प्रतियोगिताबाट बचत हुने रकमले २ जना महिला खेलाडीको कक्षा ११ र १२ को पठनपाठन खर्च उपलब्ध गराइने आयोजकले बताएको छ ।
