आरएनजीसीमा दोस्रो महिला खुला गल्फ शनिबार

चैत्र २९, २०८१

कान्तिपुर संवाददाता

2nd Women's Open Golf Saturday at RNGC

काठमाडौँ — रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा शनिबार दोस्रो संस्करणको महिला गल्फ प्रतियोगिता हुनेछ ।स्टेबलफोर्ड फर्म्याटमा हुने प्रतियोगितामा ६२ महिला गल्फ खेलाडीले भाग लिने शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा खेलाडीहरूले महिला खुला, सिनियर, सुपर सिनियर र यू–१९ प्रतिस्पर्धा गर्नेछन् ।

महिला खुलाका विजेताले इलेक्ट्रिक स्कुटर तथा आर्सिया बुटिकको तर्फबाट गिफ्ट भौचर पाउनेछ । अन्य विधाका विजेता तथा उपविजेतालाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । अन्य पुरस्कारमा क्लोजेस्ट टु द पिन, लङ्गेस्ट ड्राइभ, मोस्ट बर्डिज, स्ट्रेस्ट ड्राइभ, बेस्ट फ्रन्टनाइन, बेस्ट ब्याकनाइन, बेस्ट स्पोर्ट्सम्यानसिप र लक्की विनरका लागि पनि रहेको छ ।

मुख्य आयोजक तथा आरएनजीसीकी लेडी क्याप्टेन आर्सिया बानुले देशभरका महिला खेलाडीको सहभागिता हुनु गर्वको विषय भएको बताइन् । सह–आयोजक तथा पूर्व राष्ट्रिय महिला गल्फर प्रतिमा शेर्पाले प्रतियोगिता निरन्तरता दिन पाउँदा खुसी लागेको बताइन् । ‘यो खुला प्रतियोगिता हो र ८६ वर्षीया डा. रिता थापा जस्तो प्रेरणादायी व्यक्तित्व सहभागी हुनु हाम्रा लागि गर्वको पक्ष हो,’ प्रतिमाले भनिन् ।

अर्की सह–आयोजक सरिताश्री ज्ञवालीले यो कार्यक्रम महिलाद्वारा महिलालक्षित गरी आयोजना गरिएको बताइन् । मुख्य अतिथिको रूपमा अभिनेत्री मनीषा कोइरालाको सहभागिता रहनेछ । नेपाल गल्फ संघले पनि प्रतियोगिता सहयोग गर्नेछ । पहिलो दिनको प्रतिस्पर्धापछि उत्कृष्ट १० खेलाडीले १८ होलको दोस्रो तथा अन्तिम राउन्ड खेल्नेछन् ।

कान्तिपुर

Link copied successfully