जयस्नु र शुभश्रीलाई टेबलटेनिसको स्वर्ण

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

Table tennis gold to Jayasnu and Shubhashree

काठमाडौँ — एभीएमका जयस्नु महर्जन र नेपाल पुलिसकी शुभश्री श्रेष्ठले दोस्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । बुधबार जुनियर यू–१५ सिंगल्सको ब्वाइजमा जयस्नु र गर्ल्समा शुभश्री विजेता भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा ब्वाइजतर्फ फाइनलमा जयस्नुले एभीएमका प्रजिल भट्टराईलाई ३–२ सेटले पराजित गरे । गर्ल्सतर्फ शुभश्रीले स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी प्राज्ना महर्जनलाई ३–० सोझो सेटमा हराइन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइहरहेको प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा इखाछेंका निशान प्रधान विजेता भए । उनले फाइनलमा खोल्चा पुखुका प्रकाश धाख्वालाई ३–० ले हराए ।

होप्सका हिमाल विष्टले आफ्नै टिमका धिरज ओलीलाई ३–० ले र स्ट्यागका प्रवेश बस्नेतले होप्सका समीर खत्रीलाई ३–० ले हराएर यू–१९ ब्वाइज सिंगल्सको फाइनल भेट तय गरे । सोही स्पर्धाको गर्ल्समा एभीएमकी इभाना थापाले स्ट्यागकी सुस्मिता खड्कालाई ३–१ ले र एभीएमकी बियन्का राईले होप्सकी दिया देउलालाई ३–२ सेटले पराजित उपाधि भिडन्त तय गरे । 

बिहीबार दुई स्पर्धाको फाइनलसहित भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्सको फाइनल हुने संयोजक धर्ममान वज्राचार्यले जनाएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully