सूर्य नेपाल एनपीजीए म्याच–प्ले : फाइनलमा नीरज र धन भिड्ने

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

Surya Nepal NPGA Match-Play: Neeraj and Dhan will meet in the final

काठमाडौँ — सूर्य नेपाल एनपीजीए म्याच–प्ले गल्फ उपाधिका लागि नेपाल नम्बर दुई गल्फर नीरज तामाङ र धनबहादुर थापा उपाधिका लागि भिड्ने भएका छन् । उनीहरूबीच बिहीबार ३६ होलमा प्रतिस्पर्धा हुनेछ ।

रोयल नेपाल गल्फ क्लबमा बुधबार सेमिफाइनलमा वरीयताका दोस्रो नीरजले डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापतिलाई ३–२ ले हराए । त्यसअघि नीरजले क्वाटरफाइनलमा रामे मगरलाई ३–२ ले पन्छाएका थिए । दिनेशले क्वाटरफाइनलमा ११ औं वरीयताका अनुभवी तोरणविक्रम शाहीलाई १८ औं होलमा हराए । तर सेमिफाइनलमा नीरजसँग हारेपछि उनले तेस्रो स्थानलाई खेल्नेछन् ।

दोस्रो सेमिफाइनलमा आठौं वरीयताका धनबहादुरले चौथो वरीयताका रवि खड्कालाई ३–२ को नतिजामा हराए । धनले क्वाटरफाइनलमा नेपाल नम्बर एक गल्फर भुवन नगरकोटीमाथि १९औं होलमा अप्रत्यासित विजय नतिजा निकालेका थिए । १८ होलसम्म खेल बराबरीमा सकिएपछि पहिलो एक्स्ट्रा होलमा धनले जित निकाले । यसअघि क्वाटरफाइनलमा रविले प्रदीपकुमार लामालाई ३–२ ले हराएका थिए । रवि र भुवनले तेस्रो स्थानलाई खेल्नेछन् ।

उपाधि विजेताले ६० हजार, दोस्रो हुनेले ४२ हजार, तेस्रोले ३२ हजार र चौथो स्थान प्राप्त गर्नेले २४ हजार जित्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले ११ हजार प्राप्त गर्नेछन् । सूर्य नेपाल गल्फ टुरअन्तर्गत यस सिजनको यो छैटौं प्रतियोगिता हो ।

कान्तिपुर संवाददाता

Link copied successfully