अफगानिस्तानमाथि नेपालको जित

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

Nepal's victory over Afghanistan

काठमाडौँ — नेपाल यू–१९ ले अफगानिस्तान यू–१९ विरुद्धको तेस्रो युथ एकदिवसीय क्रिकेटमा सफलता हात पारेको छ । नेपालले मूलपानी क्रिकेट मैदानमा बुधबार अफगानिस्तानलाई डकवर्थ लुइस पद्धतिका आधारमा ८५ रनले पराजित गर्‍यो ।

अफगानिस्तान यू–१९ ले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपाल यू–१९ केवल ४४.५ ओभर खेलि १ सय ९१ रनमा अलआउट भएको थियो । जबाफमा आएको अफगानिस्तान यू–१९ ले २०.१ ओभरमा ६ विकेट गुमाई ४६ रन बनाउदा खेल वर्षाले प्रभावित पारेको थियो । थप खेल हुन नसकेपछि नेपाल डकवर्थ लुइसका आधारमा धेरै अगाडि रहेको थियो ।

यद्धपि पहिलो दुई खेलमा क्रमशः १ सय ३० रनले र १ रनले जितेर अफगानिस्तानले शृंखला यसअघि नै आफ्नो पक्षमा पारिसकेको थियो । आइतबार देखि मूलपानीमै सुरु हुने आईसीसी यू–१९ विश्वकप एसिया छनोटको तयारीको क्रममा यी दुईले यो शृंखला खेलेका थिए ।

साहिल पटेल र निरजकुमार यादवले जुन सुरुवात दिलाएका थिए, त्यसको फाइदा नेपालले उठाउन सकेन । यी दुईले १५ औं ओभरमा ८३ रन जोड्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । निरज ४२ रनमा आउट भएपछि यो साझेदारी टुटेको थियो । उनले ४७ बल खेलि ६ चौका र १ छक्का प्रहार गरे ।

साहिलले ६२ बल खेलि ४ चौका र १ छक्का प्रहार गर्दै ४६ रन बनाए । कप्तान नरेन भट्ट ३५ बल खेलि ३ चौका प्रहार गरि २२, दर्श सोनार १० र रोशन विश्वकर्मा २३ बल खेलि समान २ चौका र छक्का प्रहार गर्दै २८ रन बनाए । तर त्यसपछि आएका सन्तोष यादव ७, दिलशाद अली ३, अशोक धामी १, अपराजित पौडेल शुन्य र विपिन शर्मा ४ रनमा आउट भएपछि नेपाली युवा टोली निर्धारित ओभर अगाडि नै अलआउट भयो ।

अफगानिस्तानका हसिफ जद्रानले ४ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै ४९ रन खर्चे । अब्दुल अजिज र जाइतुल्लाह साहिनले २–२ तथा रोहुल्लाह अरब र महबुब खानले १–१ विकेट लिए ।

जवाफमा नेपालले अफगानिस्तानका दुवै ओपनरलाई खाता खोल्नु अगाडि नै आउट गरि सनसनी सुरुआत गरेको थियो । दयानन्द मण्डलले इनिङ्सको पहिलो बलमै उजाइरुल्लाह निएजाई बोल्ड गरेका थिए भने दोस्रो ओभरमा विपिनले खालिद अहमदजाई पनि बोल्ड गरेका थिए ।

फैजल शिनोजादा १६, महबबु ८, बक्रत इब्राहिमजाई ५ र नाजिफुल्लाह अमिरि १ रनमा आउट भए । अजिजुल्लाह मिआ खिल १५ र साहिनले खाता खोल्नेक्रममा रहेको समयमा वर्षाले खेल रोकिन पुगेको थियो । नेपाल यू–१९ बाट अपराजितले २ तथा दयानन्द, विपिन, सन्तोष यादव र अशोक धामीले १–१ विकेट लिए ।

नेपालले डिसेम्बरमा यूएईमा भएको एसीसी यू–१९ एसिया कपमा पनि अफगानिस्तानलाई १ विकेटले पराजित गरेको थियो । नेपालले आइतबार यूएईसँग तल्लो मूलपानी र अफगानिस्तानले ओमानसँग माथिल्लो मूलपानीमा खेलेर आईसीसी यू–१९ विश्वकप एसिया छनोटको यात्रा प्रारम्भ गर्नेछन् । 

कान्तिपुर

Link copied successfully