दाङ — दाङमा जारी लुम्बिनी प्रदेशस्तरीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि दाङ र रुपन्देहीको टीम भिड्ने भएका छन् । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगिताअन्तर्गत बुधबार सेमिफाइनलका खेल सकिएसँगै फाइनल खेल्ने दुई टोलीको टुंगो लागेको हो ।
घोराही-१७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा भएको खेलमा कपिलवस्तुलाई ६ विकेटले हराउँदै दाङले फाइनल यात्रा तय गरेको हो । कपिलवस्तुले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको दाङले उक्त लक्ष्य १७ दशमलव ५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै फाइनलमा पुगेको हो ।
दाङका लागि कप्तान सुशान्तसिंह थापा र दिनेश बोहराले २९ रनको ओपनिङ साझेदारी गर्दै जितको आधार तय गरे । सुशान्त २४ बलमा ४ चौकासहित २१ रन बनाएर शिव कुँबरको बलमा आकाश त्रिपाठीको हातबाट क्याच आउट भए । दिनेश बोहरा १० बलमा २ चौकासहित ९ रन जोडेर कपिलवस्तुका कप्तान आकाश त्रिपाठीको बलमा एलबीडब्लू आउट भए ।
शिशिर डिसी २५ बलमा १ छक्का र १ चौकासहित २० रनमा अविजित रहँदा हेमराज सापकोटाले १८ बलमा १० रनको योगदान दिए । मनोज पुन २८ बलमा २ चौकासहित २० रन बनाएर आउट हुँदा तुलबहादुर थापाले अविजित ५ रन जोड्दै जीत दिलाए ।
कपिलवस्तुका शिव कुँवरले ४ ओभरमा ८ रन खर्चेर २ विकेट हात पार्दा आकाश त्रिपाठी र रौनक श्रीवास्तवले १–१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको कपिलवस्तुले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो । पाँच दशमलव ४ ओभरमा २४ रन बनाउँदा पहिलो विकेट गुमाएको कपिलवस्तुका मध्यक्रमका ब्याटर सम्हालिन नसक्दा ९१ रन बनाउँदा अलआउट भयो ।
कपिलवस्तुका लागि महेश भारले ७ बलमा ३ चौकासहित अविजित १५ रन जोडे । आकाश त्रिपाठीले १३ बलमा १४ रन, अनुजकुमार तेलीले ११ बलमा १३ रन, सहबाज अलीले १८ बलमा १२ रन, रम्जान अलीले २४ बलमा ११ रन र शिव कुवरले १६ बलमा १० रन बनाए ।
बलिङमा दाङका तुलबहादुर थापाले मध्यक्रमका ब्याटरलाई धरासयी पारे । उनले ३ दशमलव ३ ओभरमा १३ रन खर्चेर ४ विकेट हात पारे । दिनेश बोहराले ४ ओभरमा १ मेडनसहित १७ रन दिएर ३ विकेट लिँदा शुभम खनालले ४ ओभरमा १ मेडनसहित १३ रन दिएर २ विकेट लिए । दाङलाई फाइनलमा पुर्याउन महत्त्वपूर्ण योगदान दिएका तुलबहादुर थापा प्लेयर अफ द म्याच भए ।
यसैगरी बुधबार नै भएको अर्को सेमिफाइनलमा बर्दियालाई ७ विकेटले हराउँदै रुपन्देही फाईनल प्रवेश गरेको छ । लमही –५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा बर्दियालाई ७ विकेटले हराउँदै रुपन्देहीले फाईनल यात्रा तय गरेको हो ।
बर्दियाले दिएको ७७ रनको सामान्य लक्ष्य पछ्याएको रुपन्देहीले उक्त लक्ष्य ९ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै फाईनलमा पुगेको हो ।
रुपन्देहीका लागि कप्तान देव खनाल र मृनाल गुरुङले पहिलो विकेटका लागि ३३ रनको ओपनिङ साझेदारी गर्दै जीतको आधार तय गरे । देव खनालले १२ बलमा १ छक्का र ३ चौकासहित २१ रन बनाएर सनम बुढाको बलमा एलबीडब्लू आउट भए ।
मृनालले २३ बलमा ५ चौकासहित २५ रन जोडेर सनम बुढाकै बलमा एलबीडब्लू आउट भए । प्रज्वल थापा पनि ७ बलमा ६ रन जोड्दै सनम बुढाको बलमा निखिल खत्रीको हातबाट क्याच आउट भए । मनिष थापा १० रन र सुमन पाण्डेले ८ रनमा अविजित रहँदै ६६ बल अगावै जीत दिलाए । बलिङमा बर्दियाका लागि सनम बुढाले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको बर्दियाले राम्रो शुरुवात गर्न सकेन । पहिलो बलमा रुपन्देहीका सन्देश थापाले असिम गिरीलाई बोल्ड गर्दै पेभेलियनको दिशा देखाउँदा अरु ब्याटर पनि सस्तैमा समेटिए । आठौँ विकेटका लागि २९ रनको साझेदारी बन्दा बर्दियाका निर्मल गुरुङले पारी उकास्ने कोशिस गरे । उनले २२ बलमा ४ छक्का र १ चौकासहित ४३ रन बनाउँदा अरु खेलाडीले साथ दिन सकेनन् ।
निखिल खत्रीले २७ बलमा १२ रन र अभिशेष राठोरले ९ बलमा ७ रन बनाए । पाँचौ ओभरमा १० रन जोड्दा चार विकेट गुमाएको बर्दिया थप ६६ रन बनाउँदा अलआउट भयो ।
बर्दियाको पारी धरासयी पार्न कृष्ण कार्कीले उत्कृष्ट बलिङ गरे । उनले ३ दशमलव ४ ओभरमा १ मेडनसहित जम्मा ७ रन खर्चेर पाँच विकेट हात पारे । सन्देश थापाले ३ ओभरमा ८ रन दिएर २ विकेट लिँदा अजय चौहानले पनि २ ओभरमा ४ रन दिएर २ विकेट लिए । फाईनल यात्राका लागि जित सम्भव बनाउन महत्त्वपूर्ण याोगदान दिएका रुपन्देहीका कृष्ण कार्की प्लेयर अफ द म्याच भए ।
प्रतियोगिताको फाईनल खेलमा रुपन्देहीले दाङको सामना गर्नेछ । दुई टिमबीचको फाइनल खेल लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार बिहान ९ बजेपछि हुने प्रतियोगिता संयोजक तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य कैलाश रोका मगरले जानकारी दिए ।
