केपी ओली कप क्रिकेट : गण्डकी हिरोज र हिमालयन विजयी

चैत्र २७, २०८१

अनुप पौडेल

KP Oli Cup Cricket: Gandaki Heroes and Himalayan win

कास्की — केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले जित निकालेका छन् । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले ग्रेट हिमालय क्रिकेट एकेडेमी र हिमालयनले चितवन क्रिकेट क्लबलाई पराजित गरे । 

गण्डकी हिरोजले ग्रेट हिमालयलाई १० विकेटले हरायो । १ सय ३ रनको लक्ष्य पाएको गण्डकीले १२ ओभरमा विकेटको क्षतिबिनै १ सय ६ रन बनायो । ओपनर साकिब हकले ५३ रन बनाए । उनले ४३ बलमा ७ चौका र २ छक्का प्रहार गरे । अर्जुन कुमालले ४६ रन जोडे । उनले २९ बलमा ९ चौका प्रहार गरे । 

टस हारेर ब्याटिङ थालेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले १८.४ ओभरमा १ सय २ रन बनाएर अलआउट भयो । २ बल खेलेका ओपनर ईशान पाण्डेले रन जोड्न सकेनन् । ग्रेट हिमालयका लागि रुपेशकुमार श्रीवास्तवले सर्वाधिक २१ रन बनाए । उत्तमरंघु थापा मगरले १८, दीपक केवतले १७, अभिषेक थापाले १४, सन्दीप पराजुलीले ७, अशोक पौडेलले ६, क्रिस कार्की र दिनेश बुढा मगरले ४/४ र चन्द्रकान्त पौडेलले १ रन जोडे । 

गण्डकीका लागि कृष्ण पौडेलले ४, अमृत गुरुङले ३, नारायण जोशीले २ र सुदीप अर्यालले १ विकेट लिए । गण्डकीको यो दोस्रो जित हो । यसअघि मंगलबार भएको खेलमा गण्डकीले चितवनलाई ४ विकेटले हराएको थियो । ग्रेट हिमालयको यो दोस्रो हार हो । यसअघि हिमालयन क्रिकेट एकेडेमीसँग २ विकेटले पराजित भएको थियो ।

बुधबारको दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमीले ६ विकेटको जित निकाल्यो । १ सय १९ रनको लक्ष्य पछ्याएको हिमालयनले १२.४ ओभरमा ४ विकेट गुमाउँदै १ सय १९ रन बनायो । हिमालयनको जितमा दीपक बोहोराले ८० रनको उत्कृष्ट प्रदर्शन गरे । उनले ४८ बलमा ८ चौका र ५ छक्का प्रहार गरे । खडक बोहोराले १२, दीपक बोहोरा ‘बी’ र हिमाल दौल्यालले समान १०/१० र सोनु देवकोटाले २ रन बनाए ।  चितवनका लागि दीपेश श्रेष्ठले २, किरण गुरुङ र विशाल खत्रीले १/१ विकेट लिए । 

टस हारेर ब्याटिङ गरेको चितवन क्रिकेट क्लब १८.१ ओभरमा १ सय १८ रनमा अलआउट भयो । आशुतोष घिरैयाले सर्वाधिक ५० रन बनाए । उनले ४१ बलमा ६ चौका र २ छक्का प्रहार गरे । प्रतिक श्रेष्ठ ३८ रनमा क्याचआउट भए । उनले २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कमल परियारले ८, गोविन्द विकले ७, विवेक राना मगरले ५, दीपेश श्रेष्ठले ३, रोशन झाले २, गौतम केसी, विशाल खत्री र सूर्यान्सु कोइरालाले १/१ रन बनाए । 

हिमालयनका लागि प्रकाश जैसीले ४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दीपक चन्दले ३, प्रतिश जिसी र दीपक बोहोरा ‘बी’ले १/१ विकेट लिए । हिमालयनको यो दोस्रो जित हो भने चितवनको दोस्रो हार हो । हिमालयनले पहिलो खेलमा हिमालय क्रिकेट एकेडेमीलाई पराजित गरेको थियो । चितवन गण्डकी हिरोजसँग हारेको थियो । 

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा जारी प्रतियोगिताको बुधबारको खेलमा गण्डकीका कृष्ण पौडेल र हिमालयनका प्रकाश जैसी प्लेयर अफ द म्याच बने । उनीहरुले ५/५ हजार रुपैयाँसहित ट्रफी पुरस्कार पाए । 

लगातार २ खेल जितेसँगै गण्डकी हिरोज र हिमालयन समान ४–४ अंकसहित समूह ‘बी’को शीर्ष स्थानमा छन् । बिहीबार २ टिमबीच हुने खेलको विजेता सेमिफाइनल प्रवेश गर्नेछ । समूह ‘ए’बाट सीईसी काठमाडौं सेमिफाइनल पुगिसकेको छ । 

अनुप पौडेल

Link copied successfully