कास्की — जिल्ला एथ्लेटिक्स संघ कास्कीको आयोजनामा पोखरामा चैत २९ र ३० मा राष्ट्रिय खुल्ला एथ्लेटिक्स प्रतियोगिता (पोखरा एथ्लेटिक्स मिट) हुने भएको छ ।
भारतको राँचीमा आगामी मे ३ देखि ५ सम्म साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिप हुँदैछ । त्यसैको छनोटको मान्यता पाएको यस प्रतियोगितामा विभिन्न १२ विधामा प्रतिस्पर्धा हुने संघका सचिव सिद्धान्त अधिकारीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । पुरुष र महिला ट्रयाकतर्फ १ सय, २ सय, ४ सय, १ हजार ५ सय मिटर दौड र ४ सय मिटर रिले हुनेछ । फिल्डतर्फ लङ्जम्प, ट्रिपल जम्प, हाइजम्प, सटपुट, डिस्क थ्रो, ज्याभलिन थ्रो र कास्की जिल्लास्तरीय १ सय मिटर दौड हुने सचिव अधिकारीले बताए ।
प्रतियोगितामा १२ वटै विधामा स्वर्ण, रजत र कास्य जित्नेले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट महिला र पुरुष खेलाडीलाई प्रोत्साहन स्वरूप १०/१० हजार रुपैयाँ प्रदान गरिनेछ ।
उदीयमान २ जना खेलाडीलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ । तर, पुरस्कारबारे आयोजकले खुलाएको छैन । प्रतियोगितामा नेपाल आर्मी, एपीएफ, नेपाल प्रहरी, लुम्बिनी, गण्डकी, कोशीलगायत टिम सहभागी हुने सचिव अधिकारीले जानकारी दिए । उनका अनुसार विद्यालय, क्याम्पस, संघसंस्था र एकल पनि सहभागी हुन पाइनेछ । प्रतियोगितामा २ सय ४० जना खेलाडी सहभागी हुने आयोजकको अनुमान छ ।
