जुम्ला — जुम्ला–रारा अल्ट्रा म्याराथनको छैटौं संस्करण वैशाख २७ मा हुने भएको छ । कर्णालीको खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न र खेलाडीको मनोबल उच्च बनाउन हरेक वर्ष जुम्ला–रारा अल्ट्रा म्याराथन हुँदै आएको छ ।
कर्णाली खेलकुद क्लबले पत्रकार सम्मेलन गरी म्याराथन वैशाख २७ मा गर्ने जनाएको हो । ४९ किलोमिटर दूरीमा गर्दै आएको जुम्ला–रारा अल्ट्रा म्याराथन यो वर्षदेखि ५१ किमि दूरीमा गर्ने जनाएको छ । क्लबका अध्यक्ष सरोज शाहीले खालीदेखि न्याउरीघाटसम्मको रुटसमेत परिवर्तन भएको बताए । अध्यक्ष शाहीले भने, ‘यो वर्षको म्याराथनले दौडन सहज नभएर जुम्लादेखि रारासम्म पदयात्राको प्रवर्द्धनसमेत गर्नेछ ।’
माथिल्लो मिलिचौरदेखि रारातालको किनारसम्मको ट्र्याक हुँदै उत्तरपूर्वको ठाकुरबाबाको मन्दिर हुँदै हुटु रारामा पुगेर म्याराथन सकिनेछ । गत वर्षझैं यो वर्षको एसिया ट्रेल मास्टर्सका लागि नेपालबाट खेलाडी छनोट गर्न जुम्ला–रारा अल्ट्रा म्याराथनलाई दोस्रो र अन्तिम छनोट प्रतियोगिताको रूपमा आयोजना गरिएको हो । पहिलो छनोट प्रतियोगिता मन्जुश्री ट्रेल रेस गत महिना काठमाडौंमा भएको थियो ।
यी स्पर्धामा विजयी हुने खेलाडी सेप्टेम्बरमा भियतनामको मुच्याङ चाइमा हुने एसिया ट्रेल मास्टर्सको फाइनलमा प्रतिस्पर्धा गर्न पाउने आयोजकले जनाएको छ ।
कर्णालीलाई रोग र भोगभन्दा माथि उठेर नयाँ परिचय स्थापित गराउन जुम्ला–रारा म्याराथन हुँदै आइरहेको कीर्तिमानी धावक हरिबहादुर रोकायले बताए । उनले भने, ‘यो म्याराथन दौडन मात्र नभई कर्णालीको सुन्दरता र पहिचान विश्वसामु चिनाउने सशक्त माध्यम बनेको छ ।’ म्याराथनमा जुम्लादेखि रारासम्म चार स्थानमा चेक प्वाइन्ट रहनेछ । दौड हुने रुटका बजार र गाउँमा खेलाडीहरूलाई स्वागत तथा सत्कार समूह बनाइने छ । म्याराथनमा भाग लिने खेलाडी र व्यवस्थापनमा खटिने कर्मचारीको २ लाख रुपैयाँबराबरको दुर्घटना बिमासमेत गरिने अध्यक्ष शाहीले बताए ।
जुम्ला–रारा अल्ट्रा म्याराथनमा एक हजारभन्दा बढीलाई सहभागी गराउने लक्ष्य राखिएको छ । हरेक वर्ष बेलायत, नेदरल्यान्डस, भारत, इटाली र अमेरिकाबाट खेलाडी आउने अपेक्षा छ । यो वर्ष पनि म्याराथनमा विदेशी खेलाडीको पनि सम्मानजनक उपस्थिति रहने छ ।
म्याराथनमा पहिलो हुनेलाई एक लाख, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५० हजार रुपैयाँ गरिनेछ । म्याराथन आयोजनाका लागि २५ लाख ७४ हजार रुपैयाँ लाग्ने आयोजकको अनुमान छ । खुलातर्फ ५ किमि र विद्यार्थीका लागि १० किमि दौड हुनेछ ।
म्याराथनमा सहभागी २२ जनालाई नगदबाट पुरस्कृत गरिनेछ । म्याराथनमा भाग लिने खेलाडीले अनलाइन दर्ता गर्ने क्युआर र ईसेवाबाट दर्ता शुल्क भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।
